अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:५१ | Colorodo: 14:06

गठबन्धन सरकारमा सामेल भए पनि चैन छैन-अध्यक्ष नेपाल

बिआरटीनेपाल २०८१ वैशाख १९ गते ६:०९ मा प्रकाशित

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी गठबन्धन सरकारमा सामेल भए पनि मनमा चैन नभएको बताउनुभएको छ । चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले गठबन्धन कुन दिनमा के हुने हो भन्ने स्थिति नरहेको बताउनुभयो। ‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन,’ नेपालले भन्नुभयो, ‘धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’

अध्यक्ष नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिए वामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको प्रष्ट्याउनुभयो। उहाँले एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताउनुभयो। ‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भयो। त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो, आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे,’ नेपालले भन्नुभयो, ‘तर अब सुध्रिए भने कुनै आपत्ति छैन, सुध्रियोस् भन्ने हाम्रो चाहना छ। हामी आग्रह पालेर बसेको छैनौं।’

उहाँले समाजवादी मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने बताउनुभयो । हाल चारवटा वामपन्थी पार्टी रहेको मोर्चामा अन्य समाजवादी शक्ति पनि आउन सक्ने नेपनलले बताउनुभयो । ‘विगतको कमजोरीको आत्मसमीक्षा गर्न तयार हुनुपर्यो, त्रुटि सच्चाएर आउनुपर्यो,’ उहाँले भन्नुभयो । अध्यक्ष नेपालले संविधान, गणतन्त्रलाई मास्न खोज्ने शक्ति क्रियाशील रहेकाले उनीहरूलाई परास्त पार्न एक हुनु जरूरी रहेको बताउनुभयो। पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहे पनि पहिले जस्तो एकताको अर्थ नरहेको बताउनुभयो।

कम्युनिष्ट पार्टी मिल्दा संसदमा झण्डै दुई तिहाइ सांसद भए पनि पनि कुनै गतिलो काम गर्न नसकेको उहाँले बताउनुभयो । पार्टीमा व्यक्ति हाबी भएर भ्रष्टाचार र बेथिति बढेपछि विद्रोहस्वरूप नेकपा एकीकृत समाजवादी जन्मिएको पाण्डेको भनाई छ । पाण्डेले अबको स्थानीय चुनाव पार्टी एक्लैले लड्ने पनि बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय