अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 13:49

चिया निर्यातमा भारतीय अवरोध हट्यो

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ८:१२ मा प्रकाशित

भारतीय भन्सारले पाँच दिन अघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात आज खुला गरेको छ । यही वैशाख ७ गते काँकडभिट्टा नाकाबाट चिया बोकेर गएका १७ वटा ट्रक भारतीय सीमाभित्र सडकमै रोकिएका थिए ।चिया बोकेका ती सबै ट्रक पश्चिम बङ्गालको पानीट्याङ्कीमा रहेकाे भारतीयस्थल भन्सार कार्यालयबाट जाँचपास भएर मङ्गलवार बेलुका छुटेको मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले बताउनुभयो ।रोकिएका सबै ट्रक आज छाडिए, उहाँले भन्नुभयो, अब भारतीय भन्सारबाट चिया निर्यातमा कुनै अवरोध रहेन । भारतीयस्थल भन्सार कार्यालयका अधिकारीहरूले केन्द्रबाटै आएको निर्देशनअनुसार रोकिएको जनाउँदै अहिले केन्द्रबाटै खुलाउन अर्को निर्देशन आएको बताएका छन् ।

पूर्वीनाका काँकडभिट्टाबाट जाँचपासपछि चिया बोकेर भारतीय सीमावर्ती पानीट्याङ्की नाका पुगेका १७ वटा नेपाली ट्रक रोक्दा भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू भएको जनाएको थियो । गाडी नै पिच्छे गुणस्तर जाँच गर्ने व्यवस्था अव्यावहारिक भन्दै नेपाली पक्षले पुरानै प्रावधान अनुरूप चियाको निर्यात गर्न दिन माग गर्दै आएको थियो ।  नेपाली पक्षले चिया निर्यातमा भारतीय अवरोध भएको विषयमा आपत्ति जनाउँदै भारतीय पक्षलाई पुरानै नियमअनुसार व्यापार सहजीकरण गर्न दबाब सिर्जना गरेको गरेको थियो । अन्ततः भारतीय पक्ष पहिलेकै गुणस्तर जाँचको नियमअनुसार चियाको निर्यात खुलाउन सहमत भयो ।

चियाको एउटा नमुनाको गुणस्तर जाँचपास गराएको रिपोर्टले १५ दिनसम्म निर्यात गर्दा मान्यता पाउने पुरानो प्रचलन थियो । भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई आज छाडिदिएको हो । सिटीसी र अर्थोडक्स चिया भारत निर्यात हुँदै आएको छ । नेपाली चियाको ९० प्रतिशत निर्यात भारतमै हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू