नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेकपा एमाले र माओवादी केन्द्र सच्चिए दुई वर्षभित्र सबै वामपन्थी दलहरुबीच एकता भई बलियो शक्ति बन्ने बताउनुभएको छ । समाजवादी प्रेस संगठन रुपन्देहीले शनिबार आयोजना गरेको कार्यक्रममा नेता भुसालले एमाले व्यक्ति पूजा र माओवादी केन्द्र माओवादबाट माथि उठेपछि वामपन्थी एकताका लागि यही विषयबाट अगाडि बढ्नुपर्ने बताउनुभयो ।
आफूबाहेक अरुलाई वामपन्थी नदेख्ने केपी ओली सच्चिएपछि मात्रै अहिलेको समीकरण बन्न सम्भव भएको उहाँको भनाई छ । ‘नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा गरेका गल्ती कमजोरीहरु स्वीकार गरेकाले अहिलेको गठबन्धन बनेको हो, नेपालको भविष्य ठीक बनाउन वामपन्थी शक्तिबीच एकता आवश्यक छ भन्ने विषयमा धेरैलाई महसुस भएको छ’, नेता भुसालले भन्नुभयो, ‘आफूबाहेक अरुलाई कम्युनिष्ट र वामपन्थी नदेख्ने केपी ओली त्यसै अहिलेको समीकरण बनाउन तयार भएको अवस्था होइन, पार्टीभित्र र बाहिर सबैतिरबाट अब एक्लै अघि बढ्न सकिन्न भन्ने सुझाव आएपछि विगतका कमी कमजोरी गल्ती रियलाइजेसन गरेर नै यो समीकरण सम्भव भएको हो ।’
भुसालले ओली र प्रचण्ड दुबैलाई अहिलेको सत्ता गठबन्धन यताउता गरेर अन्त जाने ठाउँ नभएको तर्क गर्नुभयो । नेता भुसालले एमाले र माओवादी दुबै पार्टीभित्रका जडता र कमजोरीहरु हटाउन आवश्यक रहेको जनाउनुभयो । उहाँले २०८४ को चुनावअघिसम्म एमाले, माओवादी, एकीकृत समाजवादी, विप्लवसहितका वामपन्थी दलहरुबीच एकता हुनसक्ने बताउनुभयो । आफ्नो दलको महाधिवेशनले वामपन्थी दलहरुबीच एकताका लागि स्पष्ट मार्गनिर्देश गर्ने राजनीतिक कार्यदिशा ल्याउने भुसालले सुनाउनुभयो ।
एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा पेश गरिएको राजनीतिक दस्तावेजमा ओलीले आफ्नो पार्टीले उठाउँदै आएका एक दर्जन एजेण्डालाई नक्कल गरेको भुसालले आरोप लगाउनुभयो । देशको राजनीति उकुसमुकुस, सन्नाटा र भाँडभैलोको अवस्थामा रहेको भुसालको भनाई थियो ।