अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:३९ | Colorodo: 19:54

सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्छाैं : अर्थमन्त्री

बिआरटीनेपाल २०८० चैत ७ गते ७:५३ मा प्रकाशित

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा सांसदहरुले दिएका सुझावका आधारमा नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बुधबार राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

अर्थमन्त्री पुनले सांसदहरुले छलफलमा उठाएका विषयलाई बजेटमा समावेश गर्ने बताउनुभयो । उहाँले सरकारले लगानी अनुसारका प्रतिफल प्राप्त नहुने कार्यक्रम तथा योजनालाई खारेज वा पुनसंरचना गरी नयाँ मोडलका कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले सामुहिक प्रणालीका जग्गाको एकीकरण गरी बाँझो जमिनको प्रयोग र चक्लाबन्दीमा कृषि फर्म स्थापना गरिने बताउनुभयो ।

अर्थमन्त्री पुनले जनताको तिव्र विकासको चाहाना पूरा गर्दै समृद्धिको यात्रालाई गति दिन सरकारले पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले सांसदहरुले उठाएका विषय प्रति सरकार संवेदनशिल रहेको बताउनु भयो । उहाँले अर्थतन्त्रमा केही चुनौति देखापरेको भन्दै उत्पादन देखी उपभोग सम्म र लगानीदेखि व्यापारसम्म देखिएको सिथिलता हटाउन नीतिगत सुधार गर्दै आर्थिक क्रियाकलापलाई तिब्रता दिने बताउनुभयो । अर्थमन्त्री पुनले निजी क्षेत्र विश्वासमा लिई अगाडि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

अर्थमन्त्री पुनले सार्वजनिक वित्तको दिगो व्यवस्थापनमा चुनौतीको रुपमा रहेको राजश्व र खर्चमा बढी रहेको अन्तरलाई कम गर्न राजस्व सुधार,सरकारी खर्चमा मितव्ययिता,वैदेशिक नविन स्रोतहरुको पहिचान र परिचालन गरिने उल्लेख गर्नुभयो । उहाँले वित्त नीति र मौद्रिक नीतिमा उचित समन्वय गर्नेमा जोड दिनुभयो । उहाँले पुँजीगत खर्चको न्युनताको समधान गर्न नीति कानून र प्रक्रिया सुधार अघि बढाइने प्रतिवद्धता व्यक्त गर्नुभयो । अर्थमन्त्री पुनले निर्माणधिन पूर्वाधार आयोजनाहरुको कार्यान्वयनलाई तिब्रता दिने र अधुरा आयोजनाहरुको स्रोत सुनिश्चित गरेर मात्र नयाँ आयोजनाहरु शुरु गरिने बताउनुभयो । उहाँले सहुलियतयुक्त हरित वित्तको सम्भावनालाई अधिकतम उपयोग गरिने पनि बताउनुभयो ।

अर्थमन्त्री पुनले आगामी वर्षको बजेट १६ औं योजनाको सोच अनरुप पहिलो वर्षको प्रमुख कार्यान्वयन हुने वर्ष हुने उल्लेख गर्नुभयो । उहाँले सुशासन,सामाजिक न्याय र समृद्धिको सोच सहित समाजवाद उन्मुख अर्थतन्त्र र सामाजिक प्रणालीको विकासका लागि ठोस आधार तयार हुने बताउनुभयो । गुणस्तरी शिक्षा स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षाको व्यवस्थाद्वारा सामाजिक न्याय कामय गर्ने र प्रमुख रणनीतिक महत्वका आधारभुत सेवा प्रदान गर्ने क्षेत्रमा राज्यको भूमिका बढाउनेतर्फ बजेट लक्षित हुने अर्थमन्त्री पुनको भनाई छ ।

अर्थमन्त्री पुनले स्रोत साधनको दक्षता पूर्ण सहयोग उत्पादन तथा रोजगारी वृद्धिमा निजी क्षेत्र र सरकारी क्षमताको प्रयोग गर्ने वातावरण निर्माण गरिने जानकारी दिनुभयो । उहाँले समृद्धिमा मात्रै नभई सामाजिक न्याय सहितको समृद्धिमा जोड दिए बजेटमा सामाजिक न्यायको पाटो उपेक्षामा नपर्ने स्पष्ट पार्नुभयो । अर्थमन्त्री पुनले अर्थतन्त्रमा देखिएका समस्या र सहकारी, लघुवित्त र मिटरब्याज समस्या प्रमुख प्राथमिकताका साथ समाधान गरिने बताउनुभयो। उहाँले नयाँ सत्ता समिकरणको साझा न्युनतम साझा संकल्पको जोड शिथिल अर्थतन्त्रलाई चलायमान बनाउने भएको बताउनुभयो ।

अर्थमन्त्री पुनले आगामी वर्षको बजेट सत्ता समिकरणको सकल्प कार्यान्वयनमा केन्द्रित हुने भएकाले अर्थतन्त्रले नयाँ गति लिने र हाल देखापरेका समस्याहरु समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उत्पादन र उत्पादकत्व वृद्धिमा जोड दिएर हाल बढ्दो युवा पलायनको विषयमा सरकारको ध्यानाकर्षण भएको भन्दै अर्थतन्त्रमा देखिएको मुल समस्या अर्थतन्त्र र रोजगारी पर्याप्त मात्रामा नबढ्नु भएको धारणा राख्नुभयो । अर्थमन्त्री पुनले आगामी बजेट उत्पादन बढाउने र ठूलो मात्रामा युवाहरु परिचालन गर्ने कार्यक्रम ल्याइने बताउनुभयो । उहाँले त्यसको लागि अहिले नै कार्यक्रम डिजाइन गर्ने काम शुरु भएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू