अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४१ | Colorodo: 22:56

हैजाको शङ्कापछि मौरिससले ३४ सय जनाभन्दा धेरै यात्रु रहेको पानीजहाजलाई राजधानी छिर्न दिएन

बिआरटीनेपाल २०८० फागुन १४ गते ६:१९ मा प्रकाशित

यात्रुमा हैजा फैलिएको शङ्कामा मौरिससले नर्वेको एक विशाल पानीजहाजलाई आफ्नो देशको राजधानी पोर्ट लुइसमा आउन रोक लगाएको छ ।नर्वेजियन डन नामको पानीजहाजमा रहेका ३४ सय जनाभन्दा धेरै यात्रुमध्ये १५ जनामा हैजाको शङ्का गरिएको थियो । मौरिससका अधिकारीहरूले कुनै पनि स्वास्थ्य जोखिमबाट बच्नका लागि जहाजलाई रोक्ने निर्णय लिइएको बताएका बीबीसीले जनाएको छ ।

जहाजमा रहेका बिरामीहरूको नमुना परीक्षण गर्ने तयारी छ । यात्रुहरूले दक्षिण अफ्रिका यात्राका क्रममा पेटमा समस्या भएको बताएका नर्वेजियन डनका प्रतिनिधिले बताएका छन् ।दक्षिणी अफ्रिकामा विगत केही महिनाहरूमा हैजाको प्रकोप उच्च भएको छ, जाम्बिया सबैभन्दा बढी प्रभावित भएको छ । गएको वर्ष अफ्रिकामा एक लाख ८८ हजार जनामा हैजा पुष्टि भएकोमा तीन हजार जनाको ज्यान गएको थियो ।

यात्रुहरूको स्वास्थ्य र सुरक्षाका साथै सम्पूर्ण देशको सुरक्षाका लागि जहाजलाई राजधानी आउन नदिनु अत्यन्तै महत्त्वपूर्ण भएको मौरिसस बन्दरगाह प्राधिकरणले बताएको छ । जहाजमा दुई हजार एक सय ८४ जना यात्रु र एक हजार २६ जना चालक दलका सदस्य रहेका छन् । यीमध्ये दुई हजार जना मौरिससको राजधानी पोर्ट लुइसमा ओर्लिने योजनामा थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू