अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०५ | Colorodo: 21:20

इमरान खानको दलले ओमर अयुबलाई प्रधानमन्त्रीको उम्मेदवार बनायाे

बिआरटीनेपाल २०८० फागुन ४ गते ७:०९ मा प्रकाशित

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले ओमर अयुब खानलाई प्रधानमन्त्री पदको उम्मेदवार बनाउने भएको छ । पीटीआईका वरिष्ठ नेता असद कैसरले जेलमा रहेका पूर्वप्रधानमन्त्री खानसँग भेट गरेपछि उहाँले ओमर अयुबलाई प्रधानमन्त्री पदको रूपमा अघि सार्नुभएको बताउनुभयो ।५४ वर्षीय ओमर अयुब पीटीआईका महासचिव र पूर्व सैन्य तानाशाह मोहम्मद अयुब खानको नाति हुनुहुन्छ । उहाँ खैबर पख्तुनख्वा प्रान्तको हरिपुरबाट पाकिस्तान मुस्लिम लिग (पीएमएल–एन) को उम्मेदवारको रूपमा सन् २०१३ को चुनावमा हार बेहोरेपछि सन् २०१८ मा आमचुनावभन्दा अघि पीटीआईमा समावेश हुनुभएको थियो ।

गएको फेब्रुअरी ८ मा भएको चुनावमा कुनै पनि दलले स्पष्ट बहुमत पाएका छैनन् । तर इमरान खान समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा धेरै सिटमा जितेका छन् । यसअघि पूर्वप्रधानमन्त्री नवाज शरीफ नेतृत्वको पीएमएल–एनले छ दलीय गठबन्धनमा नयाँ सरकार बनाउने बताइसकेको छ । पीएमएल–एन र बिलावल भुट्टो नेतृत्वको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) मिलेर पाकिस्तान डेमोक्रेटिक मुभमेन्ट (पीडीएम) नामको गठबन्धन बनाएका हुन् । पूर्वप्रधानमन्त्री नवाजले आफ्नो कान्छो भाइ शहबाज शरीफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू