पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गर्दै अदालतले सात वर्ष जेल सजाय सुनाएको छ । उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको हो ।बुशरा बीबीका पूर्व पतिले दिएको उजुरीमाथि अदालतले फैसला गर्दै खानजोडीलाई सात वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफूलाई धोका दिएको आरोप लगाउदै आएका छन् ।
बुशरासँग खानले प्रधानमन्त्री हुनुभन्दा केही महिनाअघि मात्रै विवाह गरेका थिए । बुशराले पूर्वपतिसँग सम्बन्धविच्छेद पछि तोकिएको समय नपुग्दै खानसँग विवाह गरेर कानुनको उल्लङ्घन गरेको अदालतको ठहर छ । मुस्लिम कानुन अनुसार महिलाले श्रीमान्को निधन भएको वा सम्बन्ध विच्छेद गरेपछिको निश्चित समयसम्म पुनर्विवाह गर्न पाउँदैनन् । ७१ वर्षका पूर्व प्रधानमन्त्री खानले यसअघि नै जेल सजाय भोगिरहेका छन् । राज्यलाई प्राप्त उपहार बेचेको आरोपमा अदालतले खान दम्पतीलाई यसअघि नै १४ वर्षको जेल सजाय सुनुाइसकेको छ ।
यस्तै अदालतले महत्वपूर्ण सूचना बेचेको आरोपमा खानलाई १० वर्ष जेल सजाय सुनाएको छ । त्यस अघि नै खान अर्को मुद्धामा तीन वर्षको जेल सजाय भोगिरहेका थिए । अब खानको जेल सजाय ३४ वर्ष पुगेको छ । पूर्वप्रधानमन्त्री खानले आफूविरुद्ध एक पछि अर्को सजाय तोकेर सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन् ।