कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुल रहमान अल थानीले गाजामा स्थायी युद्धविराम हुने दाबी गर्नुभएको छ । अमेरिकाको भ्रमणमा रहनुभएका थानीले वाशिङटनमा आयोजना गरिएको एटलान्टिक काउन्सिललाई सम्बोधन गर्दै इजरायल र हमासबीच स्थायी युद्धविराम हुने र हमासको कब्जामा रहेका सबै बन्धक मुक्त हुने दाबी गर्नुभएको हो ।
हमासको कब्जामा रहेका सय भन्दा बढी बन्धकहरुको रिहाइका लागि दुबै समुहसंग जारी वार्ता सकारात्मक रहेको भन्दै प्रधानमन्त्री थानीले रिहाइका लागि केही योजना तयार पारेको स्पष्ट पार्नुभयो ।सो योजनाबारे हमासलाई जानकारी गराउन बाँकी रहेको र हमासले सकारात्मक भुमिका निर्वाह गर्नेमा आफु विश्वस्त रहेको उहाँको भनाइ छ ।
यसअघि फ्रान्समा अमेरिका, इजिप्ट र कतारले मिलेर इजरायली प्रतिनिधिहरुसँग वार्ता गरेको थियो । जसका कारण इजरायल बन्धक रिहाइका लागि युद्धविराम गर्न तयार रहेको संकेत मिलेको जनाइएको छ । यसैबीच, इजरायलले गरेको आक्रमणमा विगत २४ घण्टामा २१५ जना प्यालेष्टेनीको मृत्यु भएको छ । इजरायलले गरेको स्थलगत र हवाई हमलामा २१५ जनाको मृत्यु भएको हो ।