अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१३ | Colorodo: 03:28

दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा ५२ जनाको ज्यान गयो

बिआरटीनेपाल २०८० माघ १६ गते ४:३७ मा प्रकाशित

दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण हुँदा संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा रहेका एक सदस्यसहित ५२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु ६४ जना घाइते भएका छन् ।सुडानको वारेप राज्यका हतियारधारी समूहले छिमेकी दक्षिण सुडानको अबेई क्षेत्रमा आक्रमण गरेका अबेईका सरकारी अधिकारीलाई उद्धृत गरी रोयटर्सले जनाएको छ। जग्गाका  कारण विवाद बढ्दै जाँदा आक्रमणको घटना भएको खबरमा उल्लेख छ ।

दक्षिण सुडान र सुडान दुवैले अबेईमाथि अधिकार दाबी गर्छन् । सन् २०११ मा दुई देशबीच विभाजन भएयता यस क्षेत्रको विवाद अझै समाधान हुन सकेको छैन । अबेई क्षेत्रमा खटिएको संयुक्त राष्ट्र सङ्घीय सुरक्षा बलले अस्ति भएको आक्रमणमा घानाका एक जना शान्ति सेनाको ज्यान गएको जनाएको छ । साम्प्रदायिक दङ्गा भइरहने अबेई क्षेत्रमा नेपाली शान्ति सैनिकको ९७ जनाको टोली पनि खटिएको छ । तर यो आक्रमणमा नेपाली टोली सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू