अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४६ | Colorodo: 15:01

माओवादी घटकको एकता अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० माघ १३ गते ६:२६ मा प्रकाशित

प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनको ‍रक्षाका लागि माओवादी घटकहरूबीच एकता अपरिहार्य रहेको बताउनुभएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज सहिद प्रतिष्ठान नेपालको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उहाँले विभाजित भएर लक्ष्यमा पुग्न नसकिने बताउँदै माओवादी विचारधारामा छरिएर रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध हुन अपिल गर्नुभएको हो । ‘देशभरका माओवादी आन्दोलनका सबै धारालाई एकताबद्ध हुन र एकढिक्का भएर काम गर्न अपिल गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले जनयुद्धका सहिद, बेपत्ता तथा घाइतेलाई राज्यले सम्बोधन गर्दै अगाडि बढेको बताउँदै जनयुद्धका घाइतेको वर्गीकरण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘कतिपय अझै घाइतेका रुपमा सूचीकृत हुन छुटेको भन्ने छ, उहाँहरुलाई घाइतेको सूचीमा समावेश गरिन्छ,’ उहाँले भन्नुभयो, ‘सहिद, बेपत्ता तथा घाइतेका परिवारलाई राज्यले सहयोग गरेको छ, त्यसलाई सिङ्गो पार्टी पङ्क्तिले आत्मबोध गर्नुपर्छ।’ प्रतिष्ठानका संरक्षकसमेत रहनुभएका अध्यक्ष प्रचण्ड’ले प्रतिष्ठानले सञ्चालन गरेको विद्यालयको पहिचान हुने गरी राज्यले जिम्मा लिने विश्वास दिलाउनुभयो। सदनमा पेस भएको विद्यालय शिक्षा विधेयकले पनि त्यस्ता विद्यालयलाई समेट्ने उहाँको भनाइ थियो।

सहिदलाई विभाजन गर्न हुँदैन भन्ने मनसायअनुसार प्रतिष्ठान एकताबद्ध रहेको उल्लेख गर्दै प्रचण्डले अब सबै माओवादी विचारधारा केन्द्रिकृत हुने विश्वास पनि व्यक्त गर्नुभयो। ‘समान त्याग र बलिदान गरेकाहरु एउटै केन्द्रमा आबद्ध हुने अवस्था आउँदैछ, वैज्ञानिक समाजवादका उद्देश्य बोकेका सबैलाई एकै ठाउँमा ल्याउन प्रतिष्ठानको पनि प्रयास होस्,’ उहाँले भन्नुभयो, ‘त्यही एकताको पाटोबाट नयाँ पुस्ताको नेतृत्व पैदा हुनेछ।’

माओवादी पार्टी तथा आफ्नो नेतृत्वले गरेका सकारात्मक कामलाई जनतासमक्ष पुर्याउन आग्रह गर्दै उहाँले सरकारले थालनी गरेको आर्थिक समृद्धि, सुशासन र सामाजिक न्यायका कामले जनतामा आशा जगाउन सफल भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम चाँडै सम्पन्न गर्न सरकार क्रियाशील रहेको बताउँदै सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सहमतिमै टुङ्गिने विश्वास व्यक्त गर्नुभयो । नेपालको शान्ति प्रक्रियाको मोडल बाह्य जगतका लागि पनि अनुकरणीय रहेको उहाँको भनाइ थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय