अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवाद अपरिहार्य : प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० माघ १२ गते ६:०४ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच संवाद अपरिहार्य भएको बताउनुभएको छ ।संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताउनुभएको हो । निःशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र सङ्घको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएका मिस इजुमी नाकामित्सुसहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउनुहुँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोमा जोड दिनुभयो ।

“नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकहरुका लागि उदाहरण बनेको छ, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा रहेका छन् । रुस–युक्रेन युद्ध, इजरायल–हमास द्वन्द्वलगायतका घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौं ।” प्रधानमन्त्रीले अगाडि बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लािग विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरुमा उल्लेख्य भूमिका खेल्दै आएको स्मरण गराउनुभयो । “विश्व शान्ति तथा निःशस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र संघले खेलेको भूमिका प्रशंसनीय छ ।” उहाँले भन्नुभयो, “हामी संयुक्त राष्ट्र सङ्घका हरेक कदममा साथ छौं र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौं ।”

संयुक्त राष्ट्रसङ्घको प्रतिनिधि मण्डलका तर्फबाट बोल्दै इजुमी नाकामित्सुले निशस्त्रीकरण मामिलाको दक्षिण एशियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरेको जनाउँदै नेपाल दक्षिण एशियाली क्षेत्रमा शान्तिकेन्द्र बन्ने अपेक्षा राखेको जनाउनुभयो । भेटवार्तामा संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिंगर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय