स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा ९२ हजार कर्मचारीको आवश्यकता रहेको बताउनुभएको छ । बुधबार शुक्रराज ट्रपिकल तथा सश्ररुवा रोग अस्पतालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री बस्नेतले यस्तो बताउनुभएको हो । उहाँले आफ्नो धेरै पहलले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री डा. प्रकाशशरण महत स्वास्थ्य क्षेत्रमा ३२ हजार कर्मचारी पूर्ति गर्न सकारात्मक रहेको बताउनुभयो ।
स्वास्थ्यमन्त्री बस्नेतले २०५४ सालेदेखि स्वास्थ्य मन्त्रालयले कर्मचारीको दरबन्दी बढाउन नसकेको जिकिर गर्नुभयो । उहाँले स्वास्थ्यकर्मीहरुको अभावका कारण आधारभुत र गुणस्तरीय सेवा प्रदान गर्न नसकिएको बताउनुभयो । उहाँले अहिले गाउँहरु बसाईंसराईको कारण रित्तिसकेको बताउनुभयो ।स्वास्थ्यमन्त्री बस्नेतले सामान्य रोग लाग्दा पनि विशिष्ट व्यक्तिहरु विदेश जाने कुराको अन्त्य गर्न आवश्यक रहेको भन्दै नेपालमै उपचार सम्भव हुँदा विदेश गएर उपचार गर्नेहरुको उपचार खर्च सरकारले नव्यहोर्ने बताउनुभयो । स्वास्थ्यमन्त्री बस्नेतले नेपालको मेडिकल शिक्षा दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्दै नेपाल अध्ययन गर्न आउनेहरुको संख्या बढ्दै गइरहेको बताउनुभयो ।
