प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) को राष्ट्रपतिमा निर्वाचित फेलिक्स सिसेकेडीले नयाँ कार्यकालका लागि शपथ ग्रहण गर्नुभएको छ । क्षेत्रीय नेताहरू र अन्य विदेशी विशिष्ट व्यक्तिहरूको उपस्थितिमा आयोजित समारोहमा आफ्नो दोस्रो पाँच वर्षे कार्यकालका लागि सिसेकेडीले शपथ ग्रहण गर्नुभएको हो ।जनवरीको शुरुमा डिआरसी संवैधानिक अदालतले डिसेम्बर २० को चुनावपछि राष्ट्रपति फेलिक्स सिसेकेडीको पुनः निर्वाचित भएको आधिकारिक रूपमा पुष्टि गरेको थियो ।
सिसेकेडीले ७३.४७ प्रतिशत मत प्राप्त गर्नुभयो भने प्रमुख प्रतिपक्षी उम्मेदवार मोइसे कातुम्बीले १८.०८ प्रतिशत मत प्राप्त गर्नुभयो । शपथपछिको मन्तव्यमा सिसेकेदीले थप रोजगारी सृजना, घरपरिवारको क्रयशक्तिको संरक्षण, राष्ट्रिय सुरक्षा, आर्थिक विविधिकरण र आधारभुत सेवामा पहुँचलगायतका काम गर्ने प्रतिवद्धता गर्नुभयो । आम निर्वाचनको पर्यवेक्षण गर्ने स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका अनुसार राष्ट्रपति, राष्ट्रिय सभा र २६ प्रान्तीय सभाको निर्वाचनमा जम्मा ४ करोड ४४ लाख दर्ता भएका मतदातामध्ये १ करोड ८० लाखभन्दा बढी कंगोलीहरूले मतदान गरेका थिए ।