अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा पुनर्विचार गर्नुपर्छ : ऊर्जामन्त्री बस्नेत

बिआरटीनेपाल २०८० माघ ५ गते ७:४५ मा प्रकाशित

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राख्नुभएको हो ।शुक्रबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतलले राष्ट्रिय गौरवका आयोजनाहरुको समग्र पक्षमा नै पुनर्विचार गर्नुपर्ने बेला आएको पनि बताउनुभयो । उहाँले सरकारको राष्ट्रिय गौरवका आयोजना प्रमुखहरुलाई सरुवा गर्ने कुनै मनशाय नरहेको बताउनुभयो ।

विशेष परिस्थितिबाहेक राष्ट्रिय गौरव आयोजना प्रमुखलाई सरुवा गर्ने मन्त्रालयको स्पिरिट नभएको मन्त्री बस्नेतको स्पष्टिकरण थियो । उहाँले राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुले सरुवा माग्दा पनि आफूले त्यही बसेर काम गर्न अनुरोध गर्ने गरेको समेत बताउनुभयो ।बैठकमा बोल्दै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको कामलाई महत्व नदिएको भन्दै सरकारको आलोचना गरेका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सांसद इन्दु कडरीयाले राष्ट्रिय गौरवको भनेर घोषणा गरिएका आयोजनाहरुको काम अलपत्र पार्ने काम नगर्न सरकारलाई सचेत गराउनुभयो ।

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई समयमै सम्पन्न हुने गरी स्रोत, साधन र जनशक्ति परिचालनमा ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले देशलाई समृद्धि बनाउने भन्दा पनि कमजोर पार्ने गरी राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढाइएको जिकिर गर्दै सरकारप्रति आक्रोश समेत व्यक्त गर्नुभयो ।सांसद आछामीले राष्ट्रिय गौरवको आयोजनाहरुमा बजेटको अभाव हुन नदिन पनि सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय