अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२७ | Colorodo: 10:42

सडकले विकासको सम्भावना खुलाएको छ : अर्थमन्त्री

बिआरटीनेपाल २०८० माघ १ गते ६:५५ मा प्रकाशित

सडकले विकासका धेरै सम्भावना खोल्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताउनुभएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा सोमबार आयोजित बृहत गोरु जुधाइ तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा। महतले सो भेगबाट मध्यपहाडी लोकमार्ग लैजाने प्रस्ताव आफूले गरेको बताउनुभयो । सुरुमा पाँचखालबाट काठमाडौं हुँदै झोरबाट छहरे झार्ने योजना रहेको भन्दै उहाँले काठमाडौंबाट पछाडि परेको शिवपुरीबाट बाटो जानुपर्छ भनेर आफूले प्रस्ताव गरेको दाबी गर्नुभयो ।

‘अहिले लोकमार्ग बनेको छ । अब यो ठाउँको शुभदिन सुरु भएको छ । हामीले यसको भरपुर उपयोग गर्नुपर्छ,’ मन्त्री महतले भन्नुभयो । मन्त्री डा. महतले शिवपुरी गाउँपालिका पिछडिएको अवस्थामा रहेको स्मरण गर्दै बिजुली र यातायातको सुविधा नभएको समेत बताउनुभयो । उहाँले भन्नुभयो, ‘धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरण भएको हो,०४६ सालपछि विकास गाउँ पस्यो । सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी र सिँचाई तथा नागरिक सशक्तिकरण प्रारम्भ भयो ।’

महोत्सवमा विभिन्न खालका उत्पादन प्रदर्शनीमा राखिएकोमा खुशी व्यक्त गर्दै मन्त्री डा.महतले भन्नुभयो, ‘रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको छ । सडक बनेको छ, काठमाडौं पुग्न सजिलो छ । ४५ मिनेटमा काठमाडौं पुगिन्छ ।’ ‘सरकारले उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत ल्याएको छ । पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको छ । अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ । उत्पादन देखाउँदा अनुदान पाइछ । यसको उपयोग गर्न म अनुरोध गर्छु,’ मन्त्री महतले भन्नुभयो ।

नुवाकोट जिल्लामा बजेट राम्रोसँग नपरेको भन्दै उहाँले डा. रामशरण महत अर्थमन्त्री भएका बेला पुल र बाटो निर्माणका धेरै योजना आएको समेत स्मरण गर्नुभयो । पछिल्लो समय जगतेदेखि गोल्फु भञ्ज्याङसम्मको बाटोका लागि एक अर्ब २० करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढिसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू