अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४२ | Colorodo: 12:57

त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय यात्रु अहिलेसम्मकै धेरै, आन्तरिकतर्फ भने उडान र यात्रु दुवै घटे

बिआरटीनेपाल २०८० पुष २८ गते ६:०९ मा प्रकाशित

त्रिभुवन विमानस्थलबाट सन् २०२३ मा अन्तर्राष्ट्रियतर्फ अहिलेसम्मकै धेरै ४५ लाख ४१ हजार १३७ जना यात्रुले आवातजावात गरेका छन् । जसमा नेपालबाट २४ लाख २० हजार ७८७ जना विदेश गएका छन् भने २१ लाख २० हजार ३५० जना नेपाल भित्रिएका छन् ।सन् २०२३ मा आवतजावत गर्ने यात्रुको सङ्ख्या गएको वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले धेरै हो भने कोभिड–१९ महामारी शुरु हुनु अघि सन् २०१८ को भन्दा ४ दशमलव ५ प्रतिशतले धेरै हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म त्रिभुवन विमानस्थलमा ३१ हजार ४ सय ६० वटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।

उडान सङ्ख्या सन् २०२२ को तुलनामा २९ दशलमव ४ प्रतिशतले बढी हो भने कोरोना महामारी भन्दा अगाडि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले कम हो । यस्तै अन्तर्राष्ट्रिय कार्गो  सन् २०२२ भन्दा १३ दशमलव ९८ प्रतिशतले घटेर २२ हजार नौ सय ४६ टन तीन सय ७७ किलोमा झरेको छ । अन्तर्राष्ट्रिय यात्रुको आवतजावत बढे पनि आन्तरिक आवागमन भने घटेको छ । सन् २०२३ मा त्रिभुवन विमानस्थल प्रयोग गरेर ४१ लाख ५० हजार ३२६ जनाले आवतजावत गरेका छन् । यो सङ्ख्या सन् २०२२ को भन्दा सात दशमलव ०७ प्रतिशतले कमी रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले जानकारी दिएको छ ।

आन्तरिक हवाइ उडानको सङ्ख्या पनि सन् २०२२ को भन्दा १० दशमलव ३६ प्रतिशतले घटेर ९६ हजार नौ सय ८९ मा झरेको छ । आन्तरिक उडानमा कार्गो ओसारपसार भने अघिल्लो वर्षको तुलनामा १० दशमलव ८७ प्रतिशतले बढेर चार सय २६ टन आठ सय ६१ किलो भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू