प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा रहेको सत्तारुढ बंगलादेशी अवामी लिग (एएल) पार्टीले देशको संसदीय निर्वाचनमा २९८ सिटमध्ये २२३ सिट जितेको मुख्य निर्वाचन आयुक्त काजी हबिबुल अवालले बतउनुभएको छ । ३ सय सिटमध्ये एउटा निर्वाचन क्षेत्रको नतिजा आउन ढिलो भएको छ । यसैबीच एक निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारको मृत्यु भएपछि मतदान स्थगित भएको छ ।
बंगलादेशमा कुनै दलले संसदको कुल १ सय ५१ सिट जित्न सफल भएमा सरकार बनाउन सक्छ । अवलले बंगलादेशको १२ औं संसदीय निर्वाचनमा कुल योग्य मतदाताको ४१.८ प्रतिशत पुगेको बताउनु भयो । बंगलादेशमा बहुमत प्राप्त गर्ने दलले सरकार बनाउन सक्ने उहाँले बताउनु भयो ।
सत्तारुढ एएल पार्टीका २६० भन्दा बढी उम्मेदवार राष्ट्रिय निर्वाचनमा सहभागी भएका छन् । स्थानीय समयअनुसार आइतवार बिहान ८ बजे शुरु भएको मतदान अपरान्ह ४ बजे सकिएको थियो । आइतवार देशभरका ४२ हजारभन्दा बढी मतदान केन्द्रमा मतदान भएको थियो ।