राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचनमा पराजित भएकाहरुलाई राष्ट्रियसभामा उम्मेदवारी दिएकोमा आपत्ति जनाउनुभएको छ । प्रतिनिधि सभा निर्वाचनमा हारेका नेपाली कांग्रेस नेता कृष्णप्र्र्र्र्र्रसाद सिटौलालगायतलाई राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बनाउने कुराले राजनीतिक व्यवस्थामाथि नै ठूलो ढुंंगा प्रहार भएको जिकीर गर्दै त्यसप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।मंगलबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धि ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा भाग लिँदै उहाँले निर्वाचनमा हारेकाहरुलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने कुराले यो व्यवस्थामाथि गम्भिर प्रहार भएको बताउनुभयो ।
राष्ट्रका लागि भन्दा पनि राजनीतिक पार्टीका लागि काम गर्ने मान्छेलाई राष्ट्रियसभामा छान्ने कुरा पनि यो राजनीतिक प्रणालीमाथिको गम्भिर प्रहार भएकाले यसलाई रोक्नुपर्ने सभापति लामिछानेको भनाई थियो ।सभापति लामिछानेले राज्यका सबै जिम्मेवार निकायमा मेरिटबेस (योग्यतम) को आधारमा चयन गर्नुपर्ने प्रश्ताव गर्नुभयो । संवैधानिक परिषदको सदस्यहरुको नियुक्ति पनि मेरिट बेसको आधारमा गर्ने भनेर संविधान र कानूनमै व्यवस्था हुनुपर्ने उहाँको माग थियो ।
सभापति लामिछानले राष्ट्र र जनताका लागि आवश्यक मान्छे छान्ने काम मेरिट बेसको आधारमा चयन गर्ने मान्यता विश्वव्यापी मान्यता भएको भन्दै सोहीअनुसार अघि नबढे मुलुकको प्रणाली र व्यवस्थामाथि भइरहेको हाईज्याकलाई रोक्न नसक्ने बताउनुभयो । सभापति लामिछानेले विद्यमान व्यवस्था ल्याउनका लागि छातीमा गोली थापेकाहरुले यो व्यवस्थामाथि हाईज्याक हुन नदिन पनि अघि बढ्नुपर्ने बताउनुभयो ।
