गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा दोषी देखिएका जोसुकै भएपनि कानुनको दायरामा ल्याएर छोड्ने प्रतिवद्धता जनाउनुभएको छ । सोमबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले घटनालाई प्राथमिकतामा राखेर नै सरकारले उच्चस्तरीय छानबिन समिति गठन गरेको स्पष्ट पार्नुभयो ।
गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘बालकुमारी घटनामा समितिले अध्ययन गर्छ। प्रश्न उठेका सबै विषयमा अनुसन्धान हुन्छ। जुनजुन दोषी देखापर्छन् तिनीहरूलाई कानुनको दायरामा ल्याएर छोड्छौं’। उहाँले बालकुमारी घटनाको निष्पक्ष छानबिनका लागि सुरक्षाकर्मी र इपीएस कार्यालय प्रमुखलाई निलम्बन गरिएको दावी गरे। उनले यसमा गलत प्रचार नगर्न समेत आग्रह गर्नुभयो।
मन्त्री श्रेष्ठले मृतकका परिवारलाई १० लाख बाहेक मृतकका परिवारलाई रोजगारीको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले भन्नुभयो ,’मृतकका परिवारलाई १० लाख बाहेक मृतकका परिवारका सदस्य जसले जुन प्रकृतिको रोजगारी गर्न सक्न्छ तिनीहरूलाई व्यवस्था गर्छौं। यसमा प्रधानमन्त्रीज्यू पनि सकारात्मक हुनुहुन्छ। सरकारले यसमा व्यवस्था गर्छ’।
उहाँले घाइतेहरूको निशुल्क उपचार गरिने बताउनभयो। सरकारले बालकुमारी घटनाको वस्तुगत छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ।
