अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 03:00

गृह मन्त्रालय र बालकुमारी घटनामा मृतकका परिवारबीच चारबुँदे सहमति

बिआरटीनेपाल २०८० पुष १६ गते ५:५१ मा प्रकाशित

पुस १३ गते‍ प्रहरीको गोली लागेर हत्या भएका दुई युवकका परिवार र गृह मन्त्रालयबीच सहमति भएको छ। प्रहरीको गोली लागी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो। गृह मन्त्रालय र मृतकका परिवारबीच आज सोमबार चार बुँदे सहमति भएको हो। सहमति अनुसार सरकारले मृतकका परिवारको एक जना सदस्यलाई यथाशीघ्र रोजगार उपलब्ध गराउने, थप राहत उपलब्ध गराउन सरकारले सहजीकरण गर्ने, मृतक शाह र राउतलाई सहिद घोषणाका लागि पहल गर्ने र आफन्तले उनीहरूको शव बुझिलिने छन्।

मृतकको पार्थिव शरीरलाई सम्बन्धित जिल्लामा लैजान गृह मन्त्रालयले प्रबन्ध मिलाउने सहमति पत्रमा उल्लेख छ। सहमतिमा नेपाल सरकारको तर्फबाट गृह मन्त्रालयको उपसचिव उमाकान्त अधिकारी र मृतकका तर्फबाट वीरेन्द्र शाहका बाबु टेकबहादुर र सुजन राउतको तर्फबाट उनका मामा टेकबहादुर कटुवालले हस्ताक्षर गरेका छन्। गृह मन्त्रालय र मृतकका आफन्तबीच सहमति भएका बेला अछामका प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवर, पुष्पबहादुर शाह र दैलेखका प्रतिनिधिसभा सदस्य अमनबहादुर थापा र दिक्पालकुमार शाहीको उपस्थिति थियो।

गत साता ललितपुरको बालकुमारीमा ईपीएस कोरिया शाखा कार्यालयमा परीक्षा फाराम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शाह र राउतको मृत्यु भएको थियो। सरकारले यसअघि मृतकका परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय