अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:११ | Colorodo: 00:26

माओवादीको चार महिने विशेष रूपान्तरण अभियान सोमबार समापन हुँदै

बिआरटीनेपाल २०८० पुष १५ गते ६:०५ मा प्रकाशित

नेकपा ९माओवादी केन्द्र०ले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनपरिचालनसहित सोमबार समापन हुने भएको छ । साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । बैठकको निर्णय बमोजिम भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडामा अभियान सञ्चालन गरेको हो । यसअघि मंसिरको १६ गते समापन गर्ने भनिए पनि माओवादीले अभियान एक महिना थप गरेको हो । पालिकास्तरमा जनपरिचालन गरी अभियान समापन हुने केन्द्रीय उपमहासचिव एवं सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेलले बताउनुभयो । बागमती प्रदेशको हकमा तीन प्रदेशको समन्वयमा अभियान सञ्चालन गर्ने तयारी भएको पोखरेलले जानकारी गराउनुभयो ।

‘सबै पालिकामा जनपरिचालन गरेर समापन गर्ने तयारी भएको छ । बागमतीमा बागमतीसहित, सम्पर्क समन्वय, उपत्यका विशेष प्रदेशले संयुक्त रुपमा समापन हुनेछ’, पोखरेलले भन्नुभयो, ‘यो प्रदेशको हकमा वडा सम्मेलन पनि गर्नुपर्ने भएकाले अधिकांश ठाउँमा भेला, सम्मेलन, नेतृत्व चयन गरेका छन् ।’ यस्तै अभियान समापन भएपछि २२ र २३ गते समग्र समीक्षा गर्ने उनले बताए । औपचारिक रूपले अभियान समापन भए पनि मूल लक्ष्य प्राप्त नभएसम्म जारी रहने उहाँको भनाइ छ ।

‘तीन महिने अभियान औपचारिक रूपमा सोमबार समापन भए पनि यसको मूल लक्ष्य प्राप्त भएको छैन । पहिलो संगठनको काम, दोस्रो जनसेवा, तेस्रो उत्पादन, चौथो सामाजिक सञ्जाललाई परिचालन गर्न दक्षता हासिल गर्ने र पाँचौँ जीवनशैली बदल्ने काम नियमित रूपमा यसमै केन्द्रित रहेर लैजानुपर्छ’, पोखरेलले भन्नुभयो । अभियान सुरु मात्र भएको भन्दै उनले यसलाई एउटा तहमा नपुगेसम्म निरन्तरता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । अभियान समापनको विषयमा केन्द्रीय स्तरमा कुनै कार्यक्रम तय नभएको उहाँले बताउनुभयो । यसअघि अभियान उद्घाटन प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भर्चुअल प्रविधिमार्फत सबै पालिकामा एकसाथ गर्नुभएको थियो । पालिका, जिल्ला र प्रदेशमा आ–आफ्नै अनुकूलतामा समीक्षा गर्ने कार्य सूची रहेको पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय