अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३१ | Colorodo: 16:46

रुसले युक्रेनी शहरहरूमा हवाई आक्रमण गर्‍याे

बिआरटीनेपाल २०८० पुष १३ गते ६:२१ मा प्रकाशित

रुसले युक्रेनको राजधानी किएभसहित युक्रेनका विभिन्न शहरमा शुक्रवार हवाई आक्रमण गरेको अधिकारीहरूले बताएका छन् । युक्रेनले क्रिमियाको फियोडोसिया बन्दरगाहमा रुसी युद्धपोतमाथि आक्रमण गरेको केही दिनपछि यो आक्रमण भएको हो ।किएभ शहरका मेयर भिटाली क्लिट्स्कोले टेलिग्राममा एक पोस्टमा विस्फोट भएको जानकारी दिनुभएको छ । युक्रेनको उत्तरपूर्वमा खार्किभ, पश्चिममा एलभिभ र दक्षिणमा ओडेसासहित कम्तीमा पाँच वटा अन्य शहरमा पनि रुसले हवाई आक्रमण गरेको शहरका मेयर र प्रहरीले बताएका छन् ।

खार्किभ क्षेत्रको प्रहरीले भनेको छ, ‘रुसले एस–३०० क्षेप्यास्त्रको प्रयोग गरी शान्त शहरमा आक्रमण गरेका छन् । खार्किभमा १० वटा विष्फोट भएका छन् तर त्यहाँ विशेष सेवाहरू तुरुन्तै स्थापित भएका छन् ।’सुमी र कोनोटोपमा पनि रातभर आक्रमण भएको अधिकारीहरूले बताएका छन् । दक्षिणी ओडेसामा एउटा अग्लो भवनमा ड्रोनबाट खसेको भग्नावशेषले गर्दा आगलागी भएको शहरका मेयरले बताएका छन् ।रुसले मङ्गलवार युक्रेनी आक्रमणले क्रिमियाको कब्जामा रहेको फियोडोसिया बन्दरगाहमा रहेको एक युद्धपोतमा क्षति पुगेको स्वीकार गरेपछि युक्रेन र उसका पश्चिमी मित्रराष्ट्रहरूले रुसी नौसेनाका लागि ठूलो धक्का भएको बताएका थिए ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा आफ्नो वायु सेनाले नोभोचेरकास्क अवतरण गर्ने जहाजमाथि आक्रमण गरेको बताउनुभएको छ ।रुसको रक्षा मन्त्रालयले त्यो जहाजलाई निर्देशित हवाई क्षेप्यास्त्रले क्षति पुर्‍याएको जनाएको छ ।युक्रेनको सेनाले पूर्वी क्रिमियाली बन्दरगाहमा क्षेप्यास्त्र आक्रमण गरी रुसी नौसैनिक जहाज ध्वस्त पारेको जनाएको छ ।

बिहीवार जेलेन्स्कीले युक्रेनका लागि उपलब्ध हतियारको अन्तिम बाँकी प्याकेज जारी गरेकोमा संयुक्त राज्य अमेरिकालाई धन्यवाद दिनुभएको छ । जेलेन्स्कीले किएभको मुख्य समर्थक अमेरिकाको नीतिमा कुनै पनि परिवर्तनले युद्धको क्रममा कडा प्रभाव पार्न सक्छ । जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘म राष्ट्रपति जो बाइडन, अमेरिकी संसद् र अमेरिकीप्रति २५ करोड अमेरिकी डलरको सैन्य सहायता प्याकेजका लागि धन्यवाद दिन्छु । युक्रेन र युरोपमा मात्र होइन, संयुक्त राज्य अमेरिकामा पनि स्वतन्त्रता र सुरक्षाको रक्षा गर्न हामीले जारी रुसी आक्रमणको जवाफ दिइरहनुपर्छ’, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू