नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले ठूलो भ्रष्टाचारका काण्डहरूमा ठूला नेताहरूको हात रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पाँचथरले फिदिममा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको उल्लेख गर्नुभयो । ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो,’ कोइरालाले भन्नुभयो, ‘एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ।’
देशमा दलका नेता, व्यापारी र कर्मचारीहरु मिलेर ठूला ठूला भ्रष्टाचार गरेको कोइरालाले बताउनुभयो । पत्रकारसँग कुरा गर्दै उहाँले अहिलेको सरकारले देशलाई निकास दिन नसक्ने बताउनुभयो। देशलाई निकास दिन प्रधानमन्त्री परिवर्तन गर्न कोसिस भइरहेको कोइरालाको भनाइ थियो। अहिलेको सरकारले देशलाई बर्बाद गरेको उहाँले जिकिर गर्नुभयो । ‘देशलाई बचाउन सरकार परिवर्तन अपरिहार्य भइसक्यो,’ उहाँले भन्नुभयो, ‘संसदीय व्यवस्थामा गणितको खेल हुन्छ। राम्रो सरकार निर्माणका लागि हामी पहल गरिरहेका छौं।’ देशको अर्थतन्त्र डामाडोल भएको उल्लेख गर्दै कोईरालाले बैंकहरू पनि मिटरब्याजी भएको उल्लेख गर्नुभयो ।
