अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१९ | Colorodo: 10:34

यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे कारण मानवीय त्रुटि : प्रतिवेदन

बिआरटीनेपाल २०८० पुष १२ गते ६:४७ मा प्रकाशित

गएकाे वर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले आठ महिना तीन दिन लगाएर तयार पारेको प्रतिवेदन आज बिहीवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई हस्तान्तरण गरेको छ ।

पोखरामा गएकाे वर्ष माघ १ गते विमान दुर्घटना भएकै दिन सरकारले पूर्वसचिव घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञ नेपाली सेनाका अवकाश प्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाश प्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत–सम्भार विषयका इन्जिनियर एकराज जंग थापा र आयोगको सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने हुनुहुन्थ्यो ।

प्रतिवेदन बुझाउँदै आयोगका सदस्य सचिव बुद्धिसागर लामिछानेले जानेर वा नजानेर पाइलटका कारण जहाज फेदरिङ भएको र त्यही कारण जहाज दुर्घटनामा परेको निष्कर्ष दुर्घटना जाँच आयोगको रहेको बताउनुभयो । उहाँले दुर्घटना हुनुको कारणमा जहाजका दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिएको र त्यस अवस्थामा जहाज अगाडि बढ्न नसक्ने भएका कारण जहाज भुइँमा खसेकाे बताउनुभयो ।

प्रतिवेदन बुझ्दै मन्त्री किरातीले आयोगले दिएको सुझाव कडाइका साथ कार्यान्वयन गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । पोखराकाे सेती खाेँचमा भएकाे दुर्घटनामा चालक दलका चार सदस्य र ६८ यात्रुसहित ७२ जनाकै ज्यान गएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय