प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन झनै बलियो भएको बताउनुभएको छ । गोरखाको सुलिकोट गाउँपालिकाले गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गठबन्धन पाँचै वर्ष जाने पनि दावी गर्नुभयो । ‘मंसिरको पहिलो साता आकाशै खस्ला जस्तो प्रचार गरिएको थियो । तर सबै अतिवाद बिफल भएको छ, पाँचै वर्ष गठबन्धन जान्छ’ उहाँले भन्नुभयो, ‘जति षडयन्त्र बलियो हुन्छ, गठबन्धन झनै बलियो भएको छ ।’
गठबन्धन कमजोर बनाउन धार्मिक द्वन्द्व सिर्जना गर्न खोजिएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । ‘गठबन्धनका विरुद्ध विभिन्न षडयन्त्र र धार्मिक द्वन्द्व सिर्जना गरियो । तर उनीहरुले जतिसुकै बल गरेपनि केही भएको छैन’, प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले एक वर्षमै केही रेकर्डहरु बन्नेगरी काम गरेको बताउनुभयो । तर व्यवस्था विरोधीहरुले सरकारले गरेको काम मन नपाएको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो ।
