अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

प्रधानमन्त्रीद्धारा राष्ट्रका नाममा सम्बोधन, ​क्रमभंगताको अपिल

बिआरटीनेपाल २०८० पुष १० गते ५:३८ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । सरकार गठनको १ बर्ष पूरा भएको अवसरमा गरिएको सम्बोधनमा प्रधानमन्त्रीले अबदेखि शीर्ष दलको बैठक सत्ताको वितरण गर्नका लागि नबस्ने बताउनुभयो। दल, नागरिक समाज र राज्यका निकायलाई क्रमभंगताको अपिल गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गर्नुभएको हो । ‘दल, नागरिक, समाज र राज्यका सबै निकायलाई क्रमभंगताको अपिल गर्छु । शीर्ष बैठक सत्ताको वितरण गर्न होइन, विश्वविद्यालय सुधार्न, परराष्ट्र मामिलाको विषयमा एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न, लगानी गर्न र राष्ट्रको छवि सुधार्न बस्नेछन्,’ प्रधानमन्त्री भएको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो ।

प्रधानमन्त्रीले त्रिभुवन विश्वविद्यालयमा अब भागबण्डा होइन, योग्य नेपालीले जहाँसुकैबाट पनि आवेदन दिन सक्ने बताउनुभयो । ‘विश्व विद्यालयमा राजनीतिक भागबण्डा हुने छैन । संसारको कुनै कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रस्ट र इमान्दार खाकासहित उपकुलपातिमा दाबी गर्न सक्नेछन्,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘अब मेरिटोक्रेसी शुरू हुनेछ । विश्वविद्यालय रित्तिँदै जाने अवस्था अन्त्य गर्नेछौं ।’

प्रधानमन्त्री प्रचण्डले समाजमा नकारात्मकताको डढेलो लगाउने प्रयास भइरहेको पनि बताउनुभयो । नियोजितरूपमै नकारात्मकतालाई मलजल हुन थालेको उहाँको भनाइ छ । ‘नेपाली समाजमा अत्यन्त चिन्ताजनकरूपमा चारैतिर हीनताबोध र नकारात्मकताको डढेलो लगाउँदै गरेको देखिरहेको छु । सकिँदैन, बन्दैन, हुँदैन भन्ने नकारात्मकताले समाजमा जरा गाडेको छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘एकथरिले नियोजित रूपमै नकारात्मकतालाई मलजल गरिरहेका छन् ‘।

देशमा नराम्रो मात्रै भइरहेको छ भन्ने देखाउन खोजिएको गुनासो समेत प्रधानमन्त्री प्रचण्डले गर्नुभयो । नेपालले विदुयुत् उत्पादनमा मारेको फड्कोलाई उदाहरणका रूपमा पेश गर्दै प्रधानमन्त्री प्रचण्डले देशको भविष्य उज्ज्वल रहेको दाबी गर्नुभयो । विद्युत विकासका सन्दर्भमा ८० वर्षमा नभएको काम एक वर्षभित्रमा भएको उहाँको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय