प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ ले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ । मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते सरकार एक वर्ष पुगेको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताएउनुभएको हो ।
‘मैले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएको पुस १० गते एक वर्ष हुँदैछ। यो एक वर्षमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,‘एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु।’ उहाँले प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिने प्रतिवद्धता जनाउनुभयो ।
जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत शुक्रबार मोरङको मिक्लाजुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रालयले गरेका कामहरूबारे आफूले लगातार जानकारी लिइरहेको बताउँदै प्रतिबद्धता अनुसारका काम नगर्ने मन्त्रालय पनि रहेको बताउनुभयो । ‘मन्त्रीहरूलाई बोलाएर केरके गरिरहेको छ भनेर जानकारी लिएको छु। प्रतिबद्धता गरेका काम पनि गरेका छैनन्,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यस्ता मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिनेतिर प्रतिबद्धता व्यक्त गरेको छु।’
