निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि ७ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । आयोगले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै आगामी माघ ११ गते हुने निवार्चनका लागि प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई दुई वटा मतदान केन्द्र राख्ने निर्णय भएको जनाएको हो ।कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर मतदानस्थल तथा मधेश प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाममा मतदानस्थल राखिएको छ ।
यस्तै, बागमती प्रदेशका लागि श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक एफ प्राविधिक भवन, हेटौडा र गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय पोखरामा राखिएको छ । लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन घोराही दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदानस्थल तोकिएको जनाएको छ ।
मतदानस्थलमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष उपाध्यक्ष, नगर प्रमुखउपप्रमुखले बेग्लाबेग्लै मतदान केन्द्रहरूमा माघ ११ गते बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुने जनाएको छ ।
