अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिन्छौं – प्रधानमन्त्री प्रचण्ड

बिआरटीनेपाल २०८० पुष २ गते ६:१६ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई सर्वसुलभ बनाउँदै प्राविधिक जनशक्ति उत्पादनमा जोड दिने नीति सरकारले लिने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोहलाई सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्बोधन गर्दै कुलपतिसमेत रहेका प्रधानमन्त्रीले विश्वविद्यालय शिक्षामा पनि समयअनुकूल सुधार गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समातामूलक र सबै वर्ग, समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यसका लागि उच्च शिक्षा नीतिअनुरूप विश्वविद्यालय शिक्षामा पनि समयअनुकूल सुधार गर्दै लैजानुपर्छ ।’ आगामी दिनमा प्राविधिक शिक्षाको भूमिका अझै बढाउँदै लैजानुपर्ने प्रधानमन्त्रीले बताउनुभयो । ‘उपाधि हासिल गरेका विद्यार्थीलाई विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालयको सामयिक चुनौती हो,’ उहाँले भन्नुभयो, ‘संख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको अनिवार्य आवश्यकता हो ।’

त्रिविलाई स्तरवृद्धि गर्नुपर्ने समेत प्रधानमन्त्रीको भनाई थियो । प्राध्यापक, कर्मचारी र विद्यार्थीको परिश्रमबाट मात्रै स्तरवृद्धि सम्भव हुने उहाँले बताउनुभयो । ‘स्तरवृद्धिका लागि अभिभावकत्व र सहयोगका निम्ति सरकार सधैं तत्पर रहन्छ,’ प्रचण्डले भन्नुभयो । त्रिविलाई विश्वस्तरीय उत्कृष्ट शैक्षिक केन्द्रमा रूपान्तरण गर्न सरकारले भूमिका बढाउने उहाको भनाई छ । ‘विश्व बजारका निम्ति प्रतिस्पर्धी जनशक्ति उत्पादनमा हामी कहाँ चुक्यौँ ? विगतमा विश्वविद्यालयहरूले आर्जन गरेका बलिया जनविश्वास र भरोसा किन कमजोर हुँदै गयो ? प्राज्ञहरूको भूमिका किन गुरुत्वपूर्ण हुन सकेको छैन रु किन शैक्षिक क्यालेन्डर लागू हुन सकेको छैन रु पठनपाठनमा गत्यारोध आउनुमा को दोषी छ ?,’ प्रश्न गर्दै प्रधानमन्त्री प्रचण्डले थप्नुभयो, ‘एकातर्फ हामी विश्वविद्यलायमा राजनीतिक भागबन्डा हुनु हुँदैन । स्वायत्त प्राज्ञिक निकाय हुनुपर्दछ भनिरहेका छौं । अर्कोतर्फ राजनीतिक भागबन्डा र दाउपेचका निम्ति दौडिरहेका हुन्छौं । यस्ता चुनौती र प्रश्नबारे पनि हामीले गम्भीरतापूर्वक छलफल गर्ने र निर्णय लिने बेला आएको छ ।’

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले सचेत र इमान्दार नागरिकका रूपमा राष्ट्रप्रतिको कर्तव्य पूरा गर्न आग्रह गर्नुभयो । भ्रष्टाचार नियन्त्रण, सुशासन र अर्थतन्त्रमा देखिएको चुनौतीको सुधारमा सरकार केन्द्रित रहेको दाबी गर्दै प्रधानमन्त्रीले बौद्धिक युवाहरूको रचनात्मक साथ, सहयोग र ऐक्यबद्धता आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय