प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाउनुभएको छ । समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत शनिवार दिउँसो पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । कांग्रेसका खाणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै ओलीले आपत्ति जनाउनुभयो । ‘कांग्रेसका बालकृष्ण खाण छुटे । तर हाम्रा कोही साथीहरूलाई जेल राखिएको छ । टोपबहादुरजी एमालेमा लागेको रिसले उहाँलाई जेलमै राखियो । कांग्रेसको मान्छे न्यायाधीश हुन्छ अनि कहाँ हुन्छ ?,’ संसद्मा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका ओलीले भन्नुभयो ।
नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई पाटन उच्च अदालतले बिहीवार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । तर हाल एमाले भएका पूर्वमाओवादी नेता रायमाझीलाई भने थुनामै राखिएको छ । यस्तै अदालतबाट ३० लाख धरौटीमा छुटेका खाणसँग सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि १५ लाख रुपैयाँ धरौटी मागेको छ । उहाँ शुक्रवार रिहा भईसक्नुभएको छ ।
एक प्रसंगमा ओलीले राष्ट्रिय स्वाधीनताको रक्षा, विकास र समृद्धिका लागि आसन्न २०८४ को आमनिर्वाचनमा एमालेलाई बहुमत दिएर एकमनाको सरकार बनाउने ठाउँमा पुर्याउन आग्रह गर्नुभयो । आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी ओली फिदिम जानुभएको हो । बैतडीको झुलाघाटबाट मंसिर १४ मा थालनी भएको १९ दिने संकल्प यात्राका क्रममा ओली बिहीवार जन्मजिल्ला थेह्रथुम पुग्नुभएको थियो । एमालेको संकल्प यात्रा आइतवार पाँचथरको चिवाभन्ज्याङ पुगेर टुंगिने छ ।
