अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०४ | Colorodo: 15:19

सिम्रौनगढमा गोली लागेर युवकको मृत्यु भएको विषयमा राजमार्ग बन्द, शव चार दिनदेखि अस्पतालमै

बिआरटीनेपाल २०८० मंसिर ३० गते ३:१५ मा प्रकाशित

बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार प्रहरीको गोली लागेर युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार राजमार्गमा विरोध प्रदर्शन भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने निजगढमा विरोध प्रदर्शन गर्दै राजमार्ग बन्द गरिएको हो। नेपाली कांग्रेस बारा क्षेत्र नम्बर १ ले राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको छ। गत बुधबार प्रहरीको गोली लागि मृत्यु भएका युवक लक्ष्मी मुखिया बिनलाई शहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने, नगरपालिकाका मेयर किशोरी प्रसाद कलवारको ज्यादती बन्द गर्नुपर्ने, घटनामा संलग्न प्रहरीलाई कारवाही गर्नुपर्नेलगायतका माग राखेर राजमार्ग बन्द गरिएको हो।

मध्याह्न १२ बजेदेखि राजमार्ग बन्द गरिएको विरोध प्रदर्शनमा सहभागी नेपाली कांग्रेस बाराका सचिव राजेश रौनियारले जानकारी दिनुभयो। सिम्रौनगढ नगरपालिकाको आन्तरिक विवादका कारणले उहाँले विगत पाँच महिनादेखि कर्मचारीहरुले तलब नपाएको तथा सर्वसाधारणहरु गोली खाएर ज्यान गुमाउनुपर्ने अवस्था आएकोले आन्दोलनमा उत्रिएको बताउनुभयो।  यसैबीच बुधबार नै प्रहरीको गोली लागेर मृत्यु भएका युवक विनको शव अहिलेसम्म पनि परिवारजनले बुझेका छैनन्। प्रहरीको गोली लागेर मृत्यु भएका सिम्रौनगढ नगरपालिका वडा नम्बर १ ननसगराघाटका २५ वर्षीय युवक लक्ष्मी मुखिया बिनको शव चार दिनदेखि अस्पतालमै रहेको छ। शव अहिले पनि वीरगञ्जस्थित नारायणी अस्पतालमै रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय