नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजनाबाट नभइ शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोजिनु पर्ने बताउनुभएको छ। मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राका क्रममा गृह जिल्ला तेह्रथुम पुगेका ओलीले पहिचानको नाममा भइरहेका गतिविधि प्रति लक्षित गर्दै विरोध प्रदर्शन, हिंसात्मक गतिविधि र मुठभेडबाट समस्याका निकास ननिक्लने उल्लेख गर्नुभयो । नेकपा एमाले तेह्रथुमले शुक्रबार आयोजना गरेको उक्त कार्यक्रममा ओलीले सल्लाका रुख ढालेर समस्याका समाधान नहुने भन्दै शान्तिपूर्ण व्यवहार प्रस्तुत गर्नु पर्नेमा जोड दिनुभयो । बाटाका ढुंगामुढा व्यवधानले समस्याको समाधान हुँदैन, ओलीले भन्नुभयो, सल्लाका रुख ढालेर र नचाहिने कुरा गरेर समस्याको निकास निक्लँदैन । संकल्प यात्रा कसैको विरोधका लागि नभएर समग्र देश र जनताको लागि रहेको भन्दै उहाँले समृद्ध नेपाल सुखी नेपालीको गन्तव्य सबैको हितमा रहेको दाबी गर्नुभयो । उहाँले विरोध गर्नेहरूकै हितको लागि संकल्प यात्रा रहेको समेत बताउनुभयो ।
‘जेलनेल, बलिदानी, दुःखकष्ट सहेको हाम्रो निम्ति होइन’, ओलीले भन्नुभयो,’सबैका लागि हो र विरोध गर्नेहरु कै लागि पनि हो ‘। उत्तेजना छोडेर शान्तिपूर्ण ढंगले समस्याको निकास तथा समाधान खोजिनु पर्ने उहाँको भनाइ थियो । जे गरेपनि आन्दोलन होइन, कालो झण्डा देखाउने वा हिंसात्मक रुप, मुठभेडमा लैजानु समस्याको समाधान नहुने भन्दै ओलीले लोकतन्त्रमा धैर्यता र लोकतान्त्रिक विधिबाट समस्याको समाधान निस्कने उल्लेख गर्नुभयो । फरक प्रसंगमा ओलीले एमाले नेतृत्वको सरकारलाई गलत ढंगले हटाइएकोले मुलुक संकटमा रुमल्लिएको बताउनुभयो । प्रभावकारी र सुशासनका काम गरेकोले जनता आफ्नो पक्षमा आएपछि विरोधीहरू आत्तिएर प्रयोग नगर्नु पर्ने संस्थाहरु प्रयोग गरि सत्ताबाट हटाएको उहाँको कथन थियो ।’हामीलाई सरकारबाट बाहिर धकेल्दा हामी मात्र अन्यायमा परेनौं’ ओलीले भन्नुभयो,’देश अनि जनता प्रति अन्याय भयो, उकालो लागिरहेको देश फेरि ओरालो लाग्यो’ ।
