अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२८ | Colorodo: 08:43

नेपालीलाई रुस जान कडाइ, परराष्ट्रमार्फत रुसलाई ‘कूटनीतिक नोट’

बिआरटीनेपाल २०८० मंसिर २८ गते ६:२८ मा प्रकाशित

माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकारले नेपाली नागरिकलाई रुस जान कडाइ गर्न थालेको छ । रुस–युकेन युद्धमा खटिने गरी नेपाली नागरिकहरू रुसी सेनामा भर्ती भएको खबरपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा कडाइ गर्न थालिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई देशबिच सम्झौता भएका विद्यार्थीबाहेक भिजिट भिसामा जाने, अरु ढंगले जाने सबैलाई कडाइ गरिएको जानकारी दिनुभयो । जसअनुसार सरकारले मातहतका निकायलाई सर्कुलर गरेको र सोहीअनुसार विमानस्थलमा कडाइ गरिएको उहाँको भनाइ छ ।

आचार्यका अनुसार सरकारले परराष्ट्र मन्त्रालयमार्फत रुसलाई त्यहाँको सेनामा नेपाललाई भर्ती नगर्न कूटनीतिक नोट पठाइसकेको छ भने भर्ना भएकाहरूलाई पनि फिर्ता पठाउन आग्रह गरिएको छ । ‘दुई देशबिच एमओयू भएका वा विद्यार्थीबाहेक भिजिट भिसामा जाने वा अरु ढंगले जाने सबैलाई रोक लगाइएको छ र यसबारे मातहतका निकायमा सर्कुलर गरिएको छ’, आचार्यले भन्नुभयो, ‘परराष्ट्र मन्त्रालयमार्फत रुस सरकारसँग कूटनीतिक नोट पनि पठाइएको छ । नेपालको परम्परागत रुपमा सम्झौता भएका देशबाहेक अन्य देशमा सैन्य संगठनमा पठाउने सरकारको नीति नभएकाले भर्ना नगर्न र भर्ना भएका भए पनि फिर्ता पठाउन नोट पठाइएको छ ।’

रुसी सेनामा भर्ना भएर नेपाली समस्यामा परेको खबरपछि सरकारले यस प्रकरणलाई गम्भीरतापूर्वक छानबिन गरिरहेको छ । सोहीअनुसार रुसमा नेपाली पठाउने कार्यमा संलग्न व्यक्तिहरू धमाधम समातिन थालेका छन् । हालसम्म १७ जना एजेन्टहरू पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यसबारे अनुसन्धान भइरहेकाले अवैध ढंगले नेपालीलाई रुस पठाएर सेनामा भर्ती गराउने कार्यमा संलग्न अन्य पनि छिटै पक्राउ पर्ने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय