नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा रिहा हुनुभएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा रिहा गर्न आदेश गरेपछि खाँण कारागारमुक्त हुनुभएको हो । अघिल्लोपटक सुनुवाइ हुँदा खाँणका सम्बन्धमा न्यायाधीशहरूको राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र प्रकाश खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिनुभएको थियो । बिहीवार न्यायाधीश कोइरालाको राय न्यायाधीश पाण्डेसँग मिलेपछि खाँण धरौटीमा छुट्ने पक्का भएको थियो ।
यसअघि काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार चलाउने आदेश दिएपछि उनीहरूले जिल्लाको आदेशविरुद्ध २०८० साउन १६ गते उच्च अदालतमा पुनरावेदन दिएका थिए। जिल्ला अदालतले अन्यायपूर्ण तरिकाले पुर्पक्षका लागि कारागार पठाएको दाबी गर्दै उच्चमा पुनरावेदन गराएको थियो। सरकारले उनीमाथि ठगि लिखत किर्ते राज्य विरूद्धको र संगठित अपराध मुद्दा दायर गरेको छ।
सो निवेदनमाथि सुनुवाइ गर्दै १५ मंसिरमा उच्च अदालत पाटनले पूर्वसचिव टेकनारायण पाण्डे,पूर्वमन्त्री टोपबहादुर रायमाझी,तत्कालीन गृहमन्त्री रामबहादुर थापा ुबादलुका सुरक्षा सल्लाहकार इन्द्रजित राई,आङटावा शेर्पा तथा बिचौलिया केशवप्रसाद दुलाल,सानु भण्डारी,सागर राई,विक्रम भनिने गोविन्दकुमार चौधरी र सन्देश शर्मालाई थुनामै राख्न आदेश दिएको थियो।
त्यसैगरी टेकनाथ रिजाललाई १५ लाख धरौटी,सन्दीप रायमाझीलाई ३० लाख र नरेन्द्र केसीलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। हरिभक्त महर्जन,लक्ष्मी महर्जन,शमशेर मिया,आशिष बुढाथोकी, टेक गुरुङ,रामशरण केसी र केशव तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
