अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:०५ | Colorodo: 20:20

गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा नेपालको मतदान, बन्दीलाई विनासर्त रिहा गर्न माग

बिआरटीनेपाल २०८० मंसिर २७ गते ६:०५ मा प्रकाशित

नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो ।गए राति भएको मतदानमा राष्ट्रसङ्घका एक सय ९३ वटा सदस्य राष्ट्रमध्ये अमेरिका, इजरायल, चेक रिपब्लिक, ग्वाटेमाला, लाइबेरियालगायत १० वटा देशले विपक्षमा मत दिएका छन् । बेलायतसहित २३ देशले मतदानमा भाग लिएनन् । महासभाको आपत्कालीन सत्रमा पेस गरिएको यो प्रस्तावमा युद्धका कारण बन्दी बनाइएकाहरूलाई तत्काल र विनासर्त रिहा गर्न पनि माग गरिएको छ ।

इजरायलमा अध्ययनका लागि पुगेका कञ्चनपुरका विपिन जोशीलाई पनि हमासले बन्दी बनाएको ठानिएको छ । नेपालले जोशीलाई छुटाउन कुटनीतिक पहल भइरहेको बताउँदै आएको छ । पहलकै क्रममा नेपालका परराष्ट्रमन्त्री एनपी साउदले अस्ति साेमवार मात्रै कतारका प्रधानमन्त्री र त्यसअघि परराष्ट्रमन्त्रीसँग भेट गर्नुभएको थियो । जोशीको रिहाइमा छिट्टै सकारात्मक परिणाम आउन सक्ने कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताउनुभएको छ । यसअघि एक हप्ता लामो अस्थायी युद्धविरामका बेला हमासले बन्धक बनाएका झन्डै दुई सय ४० मध्ये विभिन्न देशका एक सय जनाभन्दा धेरैलाई रिहा गरेको थियो । विदेशीमध्ये थाइल्यान्डका सबैभन्दा धेरै २३ जना मुक्त भएका थिए । हमास लडाकु समूहबाट भएको आक्रमणमा १० जना नेपालीले पनि ज्यान गुमाएका थिए । गाजामा इजरायलले गरेको जवाफी सैन्य कारबाहीमा अहिलेसम्म १८ हजार चार सय जनाभन्दा धेरैले ज्यान गुमाएको विवरण छ ।

यसअघिको अस्थायी युद्धविरामका क्रममा जोशीलाई रिहा गराउने प्रयास असफल भए पनि नेपालले कतार र इजिप्टमार्फत पहल गर्दै आएको छ । कतारले इजरायल र हमासबीच फेरि युद्धविराम गराउने पहल गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू