अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३५ | Colorodo: 17:50

राजस्व संकलन र पुँजीगत खर्चमा सुधार हुँदै गएको छ : अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० मंसिर २७ गते ५:४९ मा प्रकाशित

अर्थतन्त्री डा. प्रकाशशरण महतले सरकारको राजस्वको संकलन र पुँजीगत खर्चमा सुधार हुँदै गएको दाबी गर्नुभएको छ । अर्थ मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो दाबी गर्नुभएको हो । उहाँले गत वर्ष भएको भन्दा राजश्व संकलन १३ प्रतिशत र पुँजीगत खर्च ६ प्रतिशतले वृद्धि भएको तथ्याङ्क नै प्रस्तुत गर्नुभयो ।अर्थमन्त्री महतले मूल्य अभिवृद्धिकर ७.१९ प्रतिशतले वृद्धि भएको भन्दै आयकरतर्फ करिब १२ प्रतिशत र समग्र कर राजश्वतर्फ ७.५७ प्रतिशत वृद्धिदर कायम रहेको उल्लेख गर्नुभयो । उहाँले राजस्व संकलन र पुँजीगत खर्च सरकारले अपेक्षा गरेको भन्दा कम भएपनि बिस्तारै सुधारउन्मुख हुँदै गएको स्वीकार गर्नुभयो ।

अर्थमन्त्री महतले मौद्रिक नीतिमार्फत बैंकको ब्याजदर घटाउनको लागि नीतिगत दर ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशत, बैंक दरलाई ७.५ प्रतिशतबाट ७ प्रतिशत र निक्षेप संकलनको बोलकबोल दर ४.५ प्रतिशतबाट ३.० प्रतिशत कामय गरिएको उल्लेख गर्नुभयो । उहाँले हाल अन्तर बैंक दर २.५ प्रतिशतको हाराहारीमा रहेको बताउनु भयो । २०७९ चैत्र महिनामा बाणिज्य बैंकहरुको औषत आधार दर १०.४८ प्रतिशत रहेकोमा २०८० असोज मसान्तमा वाणिज्य बैंकहरुको औषत आधार दर ९.९४ प्रतिशतमा झरेको अर्थमन्त्री महतले बताउनुभयो ।

पछिल्लो समय सरकारसँगको समन्वयमा बैंकहरुले पनि विस्तारै ब्याजदर कम गर्दै गएको दाबी अर्थमन्त्रीले पत्रकार सम्मेलनमा गर्नुभयो । उहाँले मौद्रिक नीतिको समिक्षामार्फत चैतसम्म ऋण तिर्न समय अवधि थप गरिएको भन्दै यसले व्यवसायीको आत्मबल बढाउने अपेक्षा रहेको बताउनुभयो ।अर्थमन्त्री महतले चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा ६८.५५ अर्ब रहेकोमा यस वर्ष यस अवधिमा १३० अर्ब पुगेको उल्लेख गर्नुभयो । उहाँले बैंकको निक्षेपमा पहिलो चार महिनामा ४६.७४ अर्ब रहेकोमा यस वर्ष सोही अवधिमा २४४ अर्ब पुगेको बताउनुभयो ।

अर्थमन्त्री महतले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ५९ अर्ब चालु खाता, ९९ अर्बले सोधनान्तर वचतमा रहेको र १२ अर्ब ३३ करोड अमेरिकी डलर विदेशी विनिमय सञ्चिति रहेको दाबी गर्नुभयो । उहाँले विप्रेषणको आप्रवाह असोजसम्ममा ३० प्रतिशले बढेकोले वाह्य क्षेत्र सन्तुलनको अवस्था रहेको जिकिर गर्नुभयो । उहाँले २०२३ को हालसम्म ९ लाख ५४ हजार पर्यटक आगमन रहेको तथ्याङ्क राख्नुभयो ।अर्थमन्त्री महतले समग्रमा मुलुकको आर्थिक सूचकहरु सकारात्मक हुँदै गएको बताउनुभयो । उहाँले मुलुकमा उत्पादन र रोजगारी वृद्धि रातारात नहुने भन्दै त्यसको लागि केही समय लाग्ने भन्दै सकारात्मक दिशातर्फ अर्थतन्त्र उन्मुख भएको उल्लेख गर्नुभयो । मौद्रिक नीतिको समिक्षा पछि पुँजीबजारले सकारात्मक दिशा समाएको भन्दै अर्थमन्त्री महत उत्साहित हुनुभयो । उहाँले पुँजीबजार निकै तल झरेको गुनासो भएपनि मौद्रिक नीतिको समिक्षा पछि बजार माथि गएको बताउनु भयो । अर्थमन्त्री डा. महतले अर्थतन्त्र सुधारोन्मुख रहेको बताउनुभयो ।

अर्थतन्त्र सुधारका लागि उल्लेख्य रुपमा आफूले पहल गरेको र परिमाणहरु देखिन थालेको दाबी छ । उहाँले बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय गर्दा आर्थिक क्रियाकलापहरु क्रमशः चलायमान भएको स्पष्ट पार्नुभयो । उहाँले मौद्रिक नीतिमा हालै गरिएको परिवर्तनले बैंक तथा वित्तीय क्षेत्रमा परेको सकारात्मक प्रभाव क्रमशः आर्थिक क्रियाकलापमा प्रतिविम्वित हुने विश्वास आफूमा रहेको बताउनुभयो । उहाँले घरजग्गा र शेयर कारोबार बढ्न शुरु भएको भन्दै शेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत गरेको दाबी गर्नुभयो ।

अर्थमन्त्री डा. महतले अर्थ मन्त्रालयले तिर्नुपर्ने दायित्व भुक्तानीको लागि स्रोत सुनिश्चिता गरेर चाँडै तिर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले उखु किसान, दुध र निर्माण व्यवसायीहरुको भुक्तानी स्रोत सुनिश्चिता नभएकाले बिस्तारै भुक्तानी गरिरहेको बताउनुभयो । उहाँले सरकारले सम्झौता भए बमोजिमका दायित्व भुक्तानीहरु नगर्दैमा अर्थतन्त्र संकटमा गयो भन्न नहुने बताउनुभयो ।अर्थमन्त्री महतले सम्झौता बमोजिम काम सम्पन्न भई अर्थ मन्त्रालयमा प्राप्त निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकमको अधिकांश दायित्व व्यवस्थापन गरिसकिएको उल्लेख गर्नुभयो । उहाँले उखुको ८० करोड भुक्तानी भर्खरै गरेको भन्दै बाँकी रहेको चाँडै दिने बताउनुभयो । उहाँले अर्थ मन्त्रालयमा भुक्तानीको लागि आइ पुगेको फाइलहरुको भुक्तानी थोरै मात्रै बाँकी रहेको बताउनुभयो ।

अर्थमन्त्री डा.महतले सरकार स्वदेशी तथा विदेशी दुवै लगानीलाई प्रोत्साहन गर्ने बताउनुभयो । उहाँले विदेशी लगानीका लागि कानूनमा अफ्ठ्यारा र अव्यवहारिक भए सरकारले तत्काल सुधार गर्न तयार रहेको तर मुलुकको विधि र कानूनलाई मानेर लगानी गरेर त्यही विधि र कानूनलाई मान्दिन भन्ने एनसिएलको कुरालाई सरकारले स्वीकार गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

अर्थमन्त्री महतले एनसेलले नेपालको विधि र कानून मान्नुपर्ने बताउनुभयो । उहाँले एनसेललाई नियमन गर्ने नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणको सर्तकता र जागरुपता सुनिश्चित हुन आवश्यक रहेको बताउनुभयो । उहाँले एनसिएलले तिर्नुपर्ने कर सरकारले तिर्नुपर्छ भन्दा तिर्नुपर्दैन भनेर अदालत गए पनि सरकारको पक्षमा निर्णय भएको उल्लेख गर्नुभयो । स्वदेशी तथा विदेशी लगानीकर्ताहरु मुलुकको कानूनअनुसार चल्नुपर्छ भन्दा अन्य लगानीकर्ता नभड्किने दाबी गर्नुभयो ।अर्थमन्त्री महतले कानून अनुसार सरकारले एनसिल खरिद बिक्री प्रक्रियाको छानविन गरिरहेको बताउनुभयो । उहाँले अर्थ मन्त्रालय एनसेलले राज्यलाई तिर्नुपर्ने करको विषयमा स्पष्ट गरेको बताउनुभयो ।

अर्थमन्त्री डा.महतले कोरोनाको बीमा दाबी भुक्तानीमा झुटो विवरण पेस भएको दाबी गर्नुभयो । उहाँले कोरोना बिमाको भुक्तानीका लागि आएका दाबी शंकास्पद देखिएपछि त्यसको पुनः अनुसन्धान भइरहेको बताउनुभयो । उहाँले वास्तविक विरण आएपछि बीमाको भुक्तानी हुने स्पष्ट पार्नुभयो । सरकारले कोरोना बीमाको दाबी भुक्तानीका लागि १० अर्ब रुपैयाँ निकासा गर्नुपर्नेछ । करिब १ लाख विमितले कोरोना बीमा बापतको रकम पाउन बाँकी छ ।कोभिडको समयमा लिइएको खुकुलो मौद्रिक तथा वित्त नीतिका कारण घरजग्गा, शेयर र वस्तु आयाततर्फ उच्च कर्जा प्रवाह हुँदा अर्थतन्त्र शिथिल अवस्था पुगेको बताउनु भयो ।

प्रतिक्रिया