अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३९ | Colorodo: 18:54

लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको काम गछौं : अर्थमन्त्री महत

बिआरटीनेपाल २०८० मंसिर २५ गते ५:२० मा प्रकाशित

अर्थमन्त्री डा. प्रकाशशरण महतले बैशाखमा लगानी सम्मेलन आयोजना हुनुअगावै कन्ट्री रेटिङको प्रक्रिया सम्पन्न गर्ने बताउनुभएको छ । सोमबार अर्थ मन्त्रालयमा विभिन्न विकास साझेदारलाई लगानी सम्मेलनका विषयमा जानकारी दिन भएको छलफलमा बैशाखअघि नै कन्ट्री रेटिङ गरिसक्ने अर्थमन्त्री महतले बताउनुभएको हो । उहाँले नेपालमा लगानी गर्न आवश्यक पर्ने सबै खालका नीतिगत ऐन नियमहरु परिमार्जन गर्न सरकारले प्रमुख प्राथमिकता दिने बताउनुभयो ।

अर्थमन्त्री महतले काम गर्ने प्रक्रियागत झन्झट, काम गर्ने कार्यशैली सम्मेलन अगावै परिवर्तन हुने उल्लेख गर्नुभयो । उहाँले सरकारले निजी क्षेत्रको लगानी ल्याउन कठिन भएपनि लगानी भित्र्याउन सहजिकरण गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।अर्थमन्त्री महतले सम्पती शुद्धीकरणसम्बन्धी बलियो कानून बनाउनुपर्ने र अन्य कानुनमा पनि सुधार गर्नुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि पनि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले लगानी सम्मेलनमा निजी क्षेत्रलाई आकर्षित गर्ने मुख्य उद्देश्य रहेको बताउनुभयो ।

अर्थमन्त्री महतले वैदेशिक लगानीका लागि नेपाल सबै भन्दा उपयुक्त रहेको दाबी गर्नुभयो । उहाँले नेपालमा जलविद्युत, पर्यटन, सफ्टवेयर लगायतका क्षेत्रमा लगानी गरेर नाफा कमाउने सम्भावना रहेको बताउनुभयो । अर्थमन्त्री महतले लगानी भित्र्याउनको लागि सरकार नीति र कानूनमार्फत सहयोग गरेर नेपालमा लगानी गर्ने कम्पनीलाई नाफा कमाउने अवसर सिर्जना गर्न तयार रहेको बताउनुभयो । उहाँले लगानीकर्ताका खराब अनुभवलाई हटाउँदै जानसके पनि नेपालमा लगानी आकर्षित गर्न सकिन्छ भन्नेमा सचेत रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू