अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:३३ | Colorodo: 18:48

मौद्रिक नीतिको समीक्षाबाट अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्छ: अध्यक्ष ढकाल

बिआरटीनेपाल २०८० मंसिर २३ गते ६:२७ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले केही हदसम्म लगानीकर्ताको मनोबल बढाउने बताउनुभयो । शनिबार सुदूरपश्चिम महोत्सव २०८० को उद्घाटन समारोहमा अध्यक्ष ढकालले मौद्रिक नीतिको समीक्षाले अर्थतन्त्र लयमा ल्याउन सहयोग पुग्ने बताउनुभएको हो । अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका धेरै विषयहरु मौद्रिक नीतिको समीक्षामा समेटिएको बताए। उनले लगानीकर्ता र निजी क्षेत्रमा सकारात्मक सन्देश प्रवाह हुने संकेत गर्नुभयो।

‘नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षामा बैंक दर, नीतिगत दर, कर्जाको पुनरसंरचना र घर तथा शेयर कर्जामा लचकता अपनाइएको उहाँले बताउनुभयो। ुयी विषयहरु हामीले विगत लामो समयदेखि निरन्तर उठाउँदै आएका थियौँ । राष्ट्र बैंकले अहिले आएर यसको सुनुवाई गरेको देखिन्छ । यसले लगानीकर्ताको मनोबल बढाउन, लगानी प्रवर्द्धन गर्न सहयोग गर्नसक्छ,’ उहाँले भन्नुभयो। अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्थापित हुन नपर्ने अध्यक्ष ढकालले बताउनुभयो ।

‘निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले विगत लामो समयदेखि पटकपटक नेपाल राष्ट्र बैंकलाई अर्थतन्त्रलाई लयमा ल्याउन मौद्रिक नीतिमा विशेष व्यवस्था गर्न आग्रह गरेका थियौं। अहिले आएर हाम्रा मागको सम्बोधन भएको छ । ढिलो गरी आएको सम्बोधनले अर्थतन्त्रलाई लयमा ल्याउन के कति सहयोग गर्छ । त्यो हेर्न बाँकी नै छ । अहिले राष्ट्र बैंकले ल्याएको उदार मौद्रिक नीति समयमै आउन सकेको भए हजारौँ साना तथा मझौला व्यवसाय र व्यवसायी विस्थापित हुन पर्दैनथ्यो,’ ढकालले भन्नुभयो, ‘तर, यसले केही न केही सकारात्मक सन्देश चाँही दिनेछ भन्ने हाम्रो अपेक्षा छ।’

राज्यका निकायबिच समन्वयको अभावमा लगानीको वातावरण बन्न नसकेको उहाँको आरोप छ। अर्थतन्त्र लयमा ल्याउन सकिएन भनेर निजी क्षेत्रले आवाज उठाएको र त्यसलाई प्रधानमन्त्री आफैले सकारात्म करुपमा लिई समन्वयकारी भूमिका निर्वाह गरेको ढकालले बताउनुभयो । अध्यक्ष ढकालले निजी क्षेत्र मुलुकभित्र लगानीको वातावरण बनाउन र लगानी प्रवर्द्धन गर्न प्रतिवद्ध रहेको बताउनुभयो। मुलुकको अर्थतन्त्रप्रति प्रधानमन्त्रीले देखाएको चासो र लिएको अग्रसरताको सराहनीय भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू