नेपाल कम्युनिस्ट पार्टी (मोआवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी, र रहस्यमय भएकाले सत्ता गठबन्धन दल र सरकारले अध्ययन र छानविन गरेर निस्केको निष्कर्षअनुसार कारवाही गर्ने बताउनुभएको छ । रफत सञ्चार क्लब भक्तपुरले बुधबार आयोजित सञ्चार–संवाद कार्यक्रममा प्रवक्ता सापकोटाले सत्तारुढ दलहरूले एनसेल प्रकरणलाई अस्वाभाविक मानेर एक शक्तिशाली छानविन समिति गठन गर्ने निर्णय गरेको स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो, ‘एनसेलको शेयर खरिदबिक्री नै शंकास्पद, रहस्यमय र मुलुकलाई घाटा पार्ने खालको भएकाले यसलाई छानविन गरेर कडाइकासाथ कारवाही गर्नुपर्दछ, सरकार यस विषयमा कुनै द्विविधामा छैन ।’
सापकोटाले नेपाली जनताले वर्तमान गणतान्त्रिक व्यवस्थामाथि कुनै सवाल उठाएको नभई सेवा र आर्थिक विकासको विकासमा असन्तुष्टि पोखेको र ती असन्तुष्टिलाई सम्बोधन गर्न सरकार राजनीतिक दलहरू कृतसंकल्पित रहेको उल्लेख गर्नुभयो ।उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित सरकारले जनतालाई सुशासन र सेवा प्रवाह सही ढंगबाट पस्कन हालै मात्रै भूकम्पपीडितहरू उचित व्यवस्थापन, राहत वितरणका साथै ललितानिवास, सुनकाण्ड र नक्कली भुटानी शरणार्थी प्रकरणका फाइल खोलेर न्यायको अनुभूति दिलाउने कार्य गरेको बताउनुभयो ।
सापकोटाले भूकम्पपीडितलाई व्यवस्थापन गर्ने सिलसिलामा प्रधानमन्त्री दाहालले असाधारण सक्रियता देखाइएको भएतापनि कर्मचारीतन्त्रले प्रधानमन्त्रीको जस्तो असाधारण सक्रियता देखाउन नसकेको र कता कता कर्मचारीतन्त्र अल्मलिएको बसेको अनुभव भएको सुनाउनुभयो । उहाँले भूकम्पपीडितको उचित व्यवस्थापनका लागि सुदक्ष सुरक्षाकर्मी परिचालन गर्ने सरकार निर्णय त्यसैको कडीको रूपमा लिन आग्रह गर्नुभयो ।
सापकोटाले नेपाली समाजको चतुर्दिक उन्नतिका लागि समाजवादमुखी अर्थतन्त्र नै सर्वोत्तम सोपान भएको उल्लेख गर्दै कृषिको आधुनिकीकरण गरेर जनताको आर्थिक अवस्था सुधारेर सामाजिक न्यायसहितको व्यवस्था कायम गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले एक बैग्लै प्रसंगमा आफू कट्टर धर्मनिरपेक्षवादी भएको र आफ्नो जीवन दर्शन नै माक्र्सवाद भएको भन्दै आफू नास्तिकतामा विश्वास गर्ने उल्लेख गर्नुभयो । उहाँले नेपालमा कुनैपनि धार्मिक संघसंगठनलाई निषेध नगरिएको पनि स्पष्ट पार्नुभयो ।
