अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३० | Colorodo: 04:45

आजियटाको सेयर नेपाली व्यवसायी सतिशलाल आचार्यको कम्पनीले किन्यो, नेपालबाट बाहिरियो

बिआरटीनेपाल २०८० मंसिर १५ गते ६:२० मा प्रकाशित

एनसेलको ८० प्रतिशत सेयर सतिशलाल आचार्यको बेलायतमा रहेको एक कम्पनीले खरिद गरेको छ । आजियटा समूहले नेपालको एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय यसअघि नै गरेको थियो । सो सेयर आचार्यको नेतृत्वमा बेलायतमा रहेको कम्पनी स्पेक्ट्रलाइट युकेलाई बिक्री गरेको जारी विज्ञप्तिमा जनाइएको छ । आचार्य सिंगापुरमा व्यापार व्यवसाय गर्ने नेपाली नागरिक हुन् । आचार्यले कम्पनीको सेयर खरिदपछिको संक्षिप्त प्रतिक्रियामा भनेका छन्, “म यो सम्झौताबाट खुसी छु । दुरसञ्चार उद्योगमा रहेको मेरो अनुभवलाई लिएर एनसेलको व्यवस्थापनसँग नयाँ आविस्कार, लगानी र नेपाल जनतालाई सेवा उपलब्ध गराउने कार्यमा रहनेछु ।”

त्यसैगरी एनसेलका सीईओ जाबोर क्युमोभले भनेका छन्, “नयाँ सेयरधनीहरुसँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । एसनेलको डिजिटल अग्रणी सेवा र इन्टरनेट पहुँच प्लेटफर्मको रुपमा कायम राख्नु हाम्रो उद्देश्य हुनेछ ।”आजियाटा ग्रुप बहार्डले बुधबार आफ्नो सेयर बिक्रीमा राखेको घोषणा गरेको थियो । आजियाटा बाहिरिने भएपछि उसको सेयर आचार्यको कम्पनीले किनेको हो । आजियाटाले नेपालको परिप्रेक्ष्य चुनौतीपूर्ण देखिएको भनेर बोर्डले बाहिरिने निर्णय गरेको भनेको थियो ।दूरसञ्चार ऐन, २०५३ बमोजिम विदेशी कम्पनी भएका कारण लाइसेन्स अवधि २५ वर्षपुगेपछि अर्थात् करिब ६ वर्षपछि एनसेलको स्वामित्व स्वतः सरकारलाई आउने थियो । तर, नेपाली कम्पनीले एनसेलको सेयर स्वामित्व पाएसँगै लाइसेन्स नवीकरण गरेर त्यसपछि पनि सञ्चालन जारी राख्न सक्नेछ ।

आजियाटाले पहिले नै बिक्रीका लागि डिल फाइनल गरी एनसेलबाट बाहिरिने घोषणा गरेको हुनसक्ने आकलन गरिएको थियो । सन् २००४ मा स्पाइस नेपालका रुपमा स्थापना भएको कम्पनीले सन् २००५ मा मेरो मोबाइलमार्फत् दूरसञ्चार सेवा सुरु गरेको थियो ।त्यसपछि सन् २००८ मा स्विडिस दूरसञ्चार कम्पनी टेलिया सोनेराले कम्पनीको सेयर किन्न इच्छा देखाएको थियो । खरिद गरेपछि सन् २०१० को मार्च १२ मा स्पाइस नेपालको नाम फेरिएर एनसेल राखिएको थियो ।

सन् २०१० सम्म एनसेल लगभग नेपालभर फैलिइसकेको थियो । त्यतिबेला नै यसले थ्रीजी सेवा सुरु गरेको थियो । सन् २०१५ को डिसेम्बर २१ मा टेलियासोनेराले एनसेलबाट बाहिरिने घोषणा गरेको थियो । त्यसपछि नेपाल भित्रिएको थियो मलेसियन कम्पनी आजियाटा । सन् २०१६ को अप्रिल १२ मा आजियाटाले टेलिया सोनेराबाट एनसेलको सेयर खरिद गरेको थियो । सन् २०१८ मा एनसेलले फोरजी सेवा सुरु गरेको थियो । सन् २०२० को अगस्ट ३ मा एनसेलको नाम एनसेल आजियाटा लिमिटेड राखिएको थियो । एनसेलमा यसअघि ८० प्रतिशत आजियाटाको र २० प्रतिशत नेपालकै सुनिभेरा क्यापिटल भेन्चरको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय