अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१५ | Colorodo: 11:30

एनसेलबाट बाहिरिने आजियाटाको निर्णय

बिआरटीनेपाल २०८० मंसिर १३ गते ६:२९ मा प्रकाशित

मलेसियाको आजियाटा बर्हार्डले एनसेलबाट बाहिरिने निर्णय गरेको छ । नेपालको टेलिकम क्षेत्रको अवस्था बदलिएको भन्दै आजियाटाको हालैको बोर्ड बैठकले बाहिरिने निर्णय गरेको हो । एनसेलबाट बाहिरिने उद्देश्यका साथ आजियाटाले यसको सम्पत्ति बिक्रीमा राखेको बुधबार जारी एक विज्ञप्तिमा उल्लेख छ । एनसेलमा आजियटाको ८० प्रतिशत सेयर स्वामित्व छ ।एनसेलमा नेपाली साझेदारहरू सतिशलाल आचार्य र सचिनलाल आचार्यको २० प्रतिशत सेयर छ । एनसेलको सम्पत्ति बिक्रीमा राखिएकाले यो आर्थिक वर्षको हालसम्म आजियाटाको खुद घाटा १ अर्ब ३० करोड मलेसियन रिंगिट पुगेको कम्पनीका ग्रूप सीईओ तथा प्रबन्ध निर्देशक विवेक सूदले गरेको प्रस्तुतिमा उल्लेख छ ।

एनसेलको ८० प्रतिशत सेयर ७ वर्ष अगाडि टेलियासोनेराबाट आजियाटाले किनेको थियो ।एनसेलको २०२२ को कुल आम्दानी १ अर्ब ५ करोड मेलेसियन रिंगिट रहेको आजियाटाले जनाएको छ । जुन सन् २०२३ मा घटेर करिब ९८ करोड मेलेसियन रिंगिटमा झरेको छ ।आजियाटाको लगानी रहेको ग्रुपको आम्दानी उक्त वर्षमा समग्रमा १३ प्रतिशतले बढ्दा एनसेलको भने ७ प्रतिशतले घटेको उल्लेख गरेको छ । यस्तै सन् २०२२ मा एनसेलले ११ करोड ७० लाख मलेसियन रिंगिट नाफा आर्जन गर्दा २०२३ मा उक्त नाफा घटेर ३ करोड ४० लाख रिंगिटमा झरेको आजियाटाको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय