नेपाली कांगेसले संविधान कार्यान्वयनमा जोड दिने निष्कर्ष निकालेको छ । बुधबार धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले संघीय गणतन्त्र विरोधी गतिविधिलाई निस्तेज पार्न पनि संविधान कार्यान्वयनमा क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको हो ।संविधानको कार्यान्वयन नभएकाले संघीय गणतन्त्रमाथि टिक्काटिप्पणी हुने गरेकाले त्यसको पूर्ण कार्यान्वयनको पक्षमा क्रियाशील हुने निष्कर्ष बैठकले निकालेको पार्टीका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले पश्चिम नेपालका भूकम्प पीडितको अस्थायी आवास निर्माणका लागि एकै किस्तामा बजेट दिने व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । अस्थायी आवास निर्माणका लागि दिने भनिएको ५० हजार रुपैयाँ एकै किस्तामा दिन सरकारलाई सुझाव दिइएको पनि प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।
बैठकमा पार्टी उपसभापति समेत रहनुभएका रक्षामन्त्री पूर्णबहादुर खडका र अर्थमन्त्री डा. प्रकाशशरण महतले भूकम्प प्रभावितहरुको राहतका लागि सरकारले गरेका कामबारे बैठकलाई जानकारी गराएका थिए । बैठकमा कांग्रेस नेताहरुले भूकम्प प्रभावित क्षेत्रका मानिसहरुको चिसोले ज्यान जानेक्रम सुरु भएकाले त्यसो हुन नदिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका थिए । बैठकमा आगामी पुस १६ देखि १९ गतेसम्म बस्ने पार्टी महासमिति बैठकको एजेण्डाबारे पनि छलफल भएको थियो ।
