अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२० | Colorodo: 22:35

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन

बिआरटीनेपाल २०८० मंसिर १२ गते ५:४७ मा प्रकाशित

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न गण्डकी प्रदेश सरकारले अध्ययन समिति गठन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा लिएको नीति तथा कार्यक्रम कार्यन्वयन गर्न गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा समिति गठन गरेको हो । विभिन्न संस्थाका प्रतिनिधि, पर्यटन विज्ञसहित ११ जना समिति सदस्य रहेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशले पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्नेसम्बन्धी संक्षिप्त अवधारणापत्र तयार गर्नेछ । त्यही अवधारणापत्र बमोजिम विस्तृत अध्ययन गर्न समिति गठन गरिएको हो ।

पोखरालाई पर्यटकीय राजधानीको रूपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधारको विकास तथा सेवाको गुणात्मकता वृद्वि गर्ने नीतिलाई कार्यान्वयन गर्न अध्ययन समिति गठन गरिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बताउनुभयाे । गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन भएकाले प्रदेश सरकारको प्राथमिकतामा पर्यटन क्षेत्र रहेको उहाँले बताउनुभयाे ।

पोखराको नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान, विकास तथा प्रचारप्रसार र विद्यमान पर्यटकीय पूर्वाधारहरूको विकास तथा विविधीकरण गरी पर्यटकीय राजधानीको रूपमा विकास र घोषणा गर्न विस्तृत अध्ययन गरी ३० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी समितिको कार्यक्षेत्र र कार्यअवधि तोकिएको छ । प्रमुखले सचिवको रुपमा काम गर्नेगरी जिम्मेवारी तोकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू