पूर्वराजा ज्ञानेन्द्र शाहले शनिवार बिर्तामोडमा आयोजित कार्यक्रममा व्यापक सर्वसाधारणको सहभागिताका लागि धन्यवाद दिनुभएको छ ।मेचीनगरस्थित होटल मेची क्राउनमा आइतबार आयोजित चियापान कार्यक्रममा उहाँले जनसहभागिता जुटाउन खटिएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेतृत्वलाई धन्यवाद दिएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिनुभयो ।
शाहले भन्नुभयो, ‘अहिलेको कार्यक्रम नै राजाबाट धन्यवाद व्यक्त गर्नका लागि आयोजना गरिएको हो। राजाबाट सबैप्रति आभार प्रकट भएको छ।’ शनिवार झापाको बिर्तामोड १ स्थित इकम कलेजमा निर्मित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको सालिक अनावरण कार्यक्रममा हजारौंको संख्यामा मानिस उपस्थित भएका थिए।
जसको तयारीका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन १० दिनदेखि खटिएका थिए। आइतबार अपराह्न आयोजित चियापान कार्यक्रममा राप्रपाका अध्यक्ष लिङ्देन, रामकुमार सुब्बा, सगुन लावतीलगायत नेतालाई पूर्वराजा शाहले छेउमै राखेर कुराकानी गर्नुभएको थियो। चियापान कार्यक्रममा ३ सय ५० जनाको सहभागिता थियो। पूर्वराजा शाहले सबैसँग भेटघाट गर्नुभएको थियो ।
