दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको छ। वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुर र भक्तपुर प्रहरीले नजरबन्दमा राखेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेको सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले बताउनुभयो। ‘उहाँलाई मंसिर ८ गते बिहानदेखि नजरबन्दमा राखेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले भक्तपुर जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरविरूद्ध बन्दीप्रत्यक्षीकरणको रिट दिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘रिट दर्ता भएको छ।’
रिटको सुनुवाइका लागि आइतबारलाई पेशी तोकिएको छ। प्रसाईंले शुक्रबार काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने बताउनुभएको थियो । तर उहाँले कार्यक्रम गर्ने अनुमति नलिएको काठमाडौंका सिडिओ जितेन्द्र बस्नेतले बताउनुभएको थियो । प्रसाईलाई बल्खुमा कार्यक्रम गर्नको लागि अनुमति लिन आउनसमेत प्रशासनले भनेको थियो। तर प्रसाईंले अनुमति नलिएको प्रशासन कार्यालयको भनाइ छ। प्रशासनले उहाँलाई नजरबन्दमा नराखेको पनि बताएको छ। केही दिनयता प्रसाईलाई सुरक्षाको लागि प्रहरी खटाइएको काठमाडौं प्रशासनको भनाइ छ।
