अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

दुर्गा प्रसाईंलाई प्रशासनले भन्याे– ‘गैरकानुनी हर्कत काठमाण्डाैमा चल्दैन’

बिआरटीनेपाल २०८० मंसिर ८ गते ५:३९ मा प्रकाशित

जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले विरोध प्रदर्शनलाई सुरक्षित र व्यवस्थित बनाउन उपत्यकामा सुरक्षा व्यवस्था बलियाे बनाएको बताएको छ ।आज शुक्रवार जिल्ला प्रशासन कार्यालय काठमाण्डाैले उपत्यकाको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी बोलाएको सुरक्षा निकायको बैठकपछि काठमाण्डाैका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अहिले भइरहेकाे आन्दोलनलाई सुरक्षित बनाउन उपत्यकाको सुरक्षा व्यवस्था बलियाे बनाएको बताउनुभएको हो । उहाँले बैठकमा काठमाण्डाैकाे सुरक्षा चुनौती विश्लेषण गरेको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरूसँग छलफल गरेको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने जस्ता कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पार्नुभयो । उहाँले कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा दुर्गा प्रसाईंले बिहीवार बेलुकी पत्रकार सम्मेलन गरी कानुनलाई चुनौती दिने र गैरकानुनी कार्यक्रम सार्वजनिक गरेको भन्दै गैरकानुनी हर्कत काठमाण्डाैमा नचल्ने चेतावनी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक समूहले काठमाण्डाैमा कार्यक्रम गर्ने भन्ने सन्दर्भमा स्थानीय प्रशासनसँग अनुमति नलिइकन आज तीनकुनेमा कार्यक्रम गर्ने र त्यहाँ भेला भई निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने, उनीहरूमाथि आक्रमण गर्ने भन्ने अराजक शैलीको कार्यक्रम सार्वजनिक गरेकाले काठमाण्डाैकाे सुरक्षा व्यवस्था कडा बनाएका छौँ । काठमाण्डाै उपत्यकाका तीन वटै जिल्लाकै सुरक्षा व्यवस्था कडा छ । विना हातहतियार भेला भई शान्तिपूर्णरूपमा कार्यक्रम गर्न पाइन्छ तर कानुन हातमा लिन खोज्ने समूह र व्यक्तिलाई चेतावनीस्वरूप अनुमतिविना कार्यक्रम गर्न पाइँदैन भनेका छौँ । कार्यक्रमलाई शान्तिपूर्ण बनाउनुपर्ने ठाउँमा हिजो बेलुका कानुनलाई चुनौती दिने र गैरकानुनी हर्कत गर्ने काम गर्नुभयो । यस्ता गैरकानुनी हर्कत काठमाण्डाैमा चल्दैन ।’ प्रमुख जिल्ला अधिकारी बस्नेतले व्यवसायी दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको र सुरक्षा दिइएकाे बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय