इजराइलले चार दिने गाजा युद्धविराम र बन्धकहरूको रिहाइ कम्तीमा पनि शुक्रवारसम्म शुरु नहुने बताएको छ । इजराइलको यो भनाइले हमाससँगको युद्ध रोक्नका लागि भएको महत्त्वपूर्ण सम्झौता रोकिएको छ । इजराइलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले हमासद्वारा बन्धक बनाइएका कम्तीमा ५० इजराइली तथा विदेशी बन्धकहरूको रिहाइ अहिले पनि जारी रहेको तर अपेक्षाअनुसार बिहीवार यस्तो नहुने सङ्केत गर्नुभएको छ । ‘हाम्रा बन्धकहरूको रिहाइका लागि सम्पर्क अगाडि बढेको छ र यो जारी छ’, उहाँले एक विज्ञप्तिमा भन्नुभयो, ‘रिहाइको शुरुवात पक्षहरूबीचको मूल सम्झौताअनुसार हुनेछ र शुक्रवारभन्दा पहिला हुनेछैन ।’
अर्का इजराइली अधिकारीले युद्धमा अस्थायी रोक बिहीवार पनि शुरु नहुने बताएका छन् । यो ढिलाइ आफ्ना प्रियजनहरूलाई घर फर्केको हेर्नका लागि चिन्तित परिवार र ४७ दिनको युद्ध तथा अभावको समाप्तिका लागि प्रार्थना गरिरहेका २० लाखभन्दा धेरै गाजावासीका लागि ठूलो झड्का हो ।जटिल तथा सावधानीपूर्वक तयार गरिएको सम्झौतामा इजराइल र हमास चार दिने युद्धविराम गर्न सहमत भएका छन् । सम्झौताअन्तर्गत प्यालेस्टिनी लडाकु समूह हमासले अक्टोबर ७ मा गरेको घातक हमलामा बन्धक बनाइएकामध्ये कम्तीमा ५० व्यक्तिलाई रिहा गरिने छ ।
रिहा गरिएका प्रत्येक १० अतिरिक्त बन्धकका लागि युद्धमा थप एक दिनको ‘विराम’ हुने इजराइली सरकारले एक दस्तावेजमा बताएको छ । रिहाइका लागि तोकिएकामध्ये तीन वर्षीय अबिगैल मोर इदानसहित तीन अमेरिकी रहेका छन् । बदलामा इजराइलले कम्तीमा एक सय ५० प्यालेस्टिनी महिला तथा बालबालिकालाई रिहा गर्नेछ र हप्तौँको बमबारी तथा ठूलो लडाइँपछि घेरामा परेको तटीय क्षेत्रमा थप मानवीय सहायतालाई अनुमति दिनेछ ।
इजराइल, प्यालेस्टिनी लडाकु समूह, कतार, इजिप्ट र अमेरिका सम्मिलित धेरै हप्ताको कुराकानीपछि भएको सम्झौताको कार्यान्वयनमा भएको यो ढिलाइका कारण तत्काल स्पष्ट हुन सकेको छैन । कतारको विदेश मन्त्रालयलका प्रवक्ता माजिद अल–अन्सारीले बिहीवार सम्झौताको कार्यान्वयन ‘जारी रहेको र सकारात्मकरूपमा भइरहेको’ बताउनुभयो । ‘अबको केही घन्टामा युद्धविराम सम्झौताको टुङ्गो लगाइने छ’, उहाँले भन्नुभयो ।