अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४० | Colorodo: 06:55

दुर्गा प्रसाईँ लक्षित एमाले अध्यक्ष ओलीको टिप्पणी – ‘ती सिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन’

बिआरटीनेपाल २०८० मंसिर ५ गते ७:३७ मा प्रकाशित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गर्नुभएको छ । मंगलबार पर्साको पोखरियामा आयोजित आमसभा तथा बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले एमालेले अहिले देश संगठन विस्तारको अभियान चलाइरहेको र २०८४ को चुनावमा एमालेको एकल बहुमतको सरकार बन्ने दाबी गर्नुभयो ।

ओलीले भन्नुभयो,’आउँदो २०८४ चुनावमा एमालेलाई कुनै पनि शक्तिले हराउन नसक्ने गरी संगठनलाई मजबुत बनाइरहेका छौं। हामी मिसन २०८४ मा लागेका छौं। २०८४ को चुनावमा देशभर एमालेको विजयपताका फहराउँछ। एमालेको एकल बहुमतको सरकार बन्ने निश्चित छ’। पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमालेबाहेक कुनै पनि पार्टीले देशलाई समृद्ध बनाउन नसक्ने। देशलाई अहिलेको बेथिति र विसंगतिबाट बाहिर निकाल्न एमालेको सरकारको विकल्प नै नभएको जिकिर पनि ओलीले गर्नुभयो ।

छिमेकी मुलुकहरूसँग दबिएर होइन, समान हैसियत बनाएर अगाडि बढ्ने नीतिमा एमाले नेतृत्वमा बन्ने सरकारको रहने उहाँले बताउनुभयो। मुलुकमा अहिलेको गठबन्धनको सरकारका कारण चरम बेथिति, भ्रष्टाचार र आर्थिक मन्दी बढ्दै गएकाले यी सबैबाट देशलाई बाहिर निकाल्न मुलुकमा एमाले नेतृत्वको सरकार नै आवश्यक भएको उहाले बताउनुभयो ।

दुर्गा प्रसाईँलाई नयाँ तत्वको सिखण्डीको संज्ञा दिँदै ओेलीले भन्नुभयो, ‘अहिले देशमा केही नयाँ तत्वहरू उफ्रिइरहेका छन्। अहिलेको गठबन्धनको सरकारको बेथितिका कारण नै ती सिखण्डीलाई एमालेले गन्दा पनि गन्दैन। कुनै मतलब पनि राख्दैन। किनकि एमाले सिसाको गिलास होईन । जुन कतै ठोक्कियो भने पिटिक्कै फुटिहाल्ने। एमाले त्यस्तो इस्पात हो, जुन घनले हान्दा पनि टसमस हुँदैन। त्यसैले अहिले उफ्रिइरहेका नयाँ सिखण्डीहरूको एमालेले मतलब नै राख्दैन’।

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय