अर्थतन्त्रलाई गति दिन सरकारले छलफल सुरू गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंहदरबारमा विभिन्न राजनीतिक दलका नेताहरू र निजी क्षेत्र लगायतसँग मंगलबार छलफल गनुृभएको छ । प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्र, अर्थविद, अर्थक्षेत्रका सरोकारवालसँग सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय छलफल गरेको उहाँको सचिवालयले जानकारी दिएको छ। सरकारले अर्थतन्त्रको समस्यालाई छिटो, छरितो रुपमा समाधान गर्न केही दिनदेखि छलफल गरिरहेको छ। छलफलमा मन्त्रीहरू, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित सत्ता गठबन्धन दलका नेताहरू पनि सहभागी हुनुहुन्थ्यो ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसमेत रहेका अर्थशास्त्री स्वर्णिम वाग्ले पनि छलफलमा सहभागी हुनुभएको छ । प्रधानमन्त्री प्रचण्डले सोमबार अर्थमन्त्री प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारी लगायतसँग पनि छलफल गर्नुभएको थियो । प्रधानमन्त्रीले अर्थतन्त्रलाई अझ चलायमान गर्नका लागि सुझाव लिनुभएको छ । देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो हुँदै गएको भए पनि केही समस्या रहेको उहाँको भनाइ छ। अर्थतन्त्र थप चलायमान बनाएर देशमा रोजगारीका अवसर सिर्जना गर्नेबारे प्रधानमन्त्रीले छलफल गरेको उनको सचिवालयले जनाएको छ।
