अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१९ | Colorodo: 06:34

बङ्लादेशमा पारिश्रमिक बढाउन श्रमिकको प्रदर्शन, ज्यान गुमाउनेको सङ्ख्या चार पुग्यो

बिआरटीनेपाल २०८० कार्तिक २६ गते २०:३४ मा प्रकाशित

श्रमिकको विरोध प्रदर्शनका कारण बङ्लादेश अशान्त बन्दै गएको छ । सरकारले पारिश्रमिक बढाउन गरेको प्रस्ताव अत्यन्तै कम भएको विरोधमा तयारी पाेसाक कारखानाका श्रमिकले निरन्तर प्रदर्शन गर्दै आएका छन् ।उचित पारिश्रमिकको माग गर्दै हिजो पनि उनीहरुले जुलुस निकालेका थिए । गएको महिना शुरु भएको हिंसात्मक विरोध प्रदर्शनका क्रममा मर्नेको सङ्ख्या चार जना पुगेको छ । विरोध प्रदर्शनका क्रममा कम्तीमा ७० कारखानामा तोडफोड भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विगत एक दशकमा भएको यो प्रदर्शनलाई सबैभन्दा खराब मानिएको छ । न्यूनतम पारिश्रमिक तीन गुणाले बढाएर २३ हजार टाका बनाउनुपर्ने माग गर्दै हजारौँ श्रमिक सडकमा छन् । बङ्लादेशको तीन हजार पाँच सय तयारी पोसाक कारखानाले देशको ५५ अर्ब अमेरिकी डलरको वार्षिक निर्यातमा झण्डै ८५ प्रतिशत योगदान गर्छ । तर यो क्षेत्रका ४० लाख श्रमिकमध्ये धेरैको अवस्था दयनीय छ ।

त्यसमा पनि धेरैजसो महिला छन् । सरकारले तयारी पोसाक कारखानाका ४० लाख श्रमिकका लागि पारिश्रमिकमा ५६ दशमलव २५ प्रतिशतले वृद्धि गरेको थियो । श्रमिकहरूले यो प्रस्तावलाई अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू